Logo

नेपालगञ्जमा १७ हजार फर्म नवीकरणविहीन



बाँके, २४ फागुन : नेपालगञ्जमा रहेका वाणिज्य तथा व्यवसायी फर्ममध्ये १७ हजार बढी फर्म अहिले पनि कानूनी मापदण्डभन्दा बाहिर गएका छन् । वाणिज्य कार्यालय नेपालगञ्जअन्तर्गत रहेका ३२ हजार फर्ममध्ये १७ हजार बढी फर्मले नियमित नवीकरणसमेत नगर्दा ती फर्म मापदण्ड बाहिर देखिएका हुन् । कार्यालयले समयमै नवीकरण नगरेका र दर्ता नभएका तीन हजार फर्म खारेज गरेको वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले बताए। उनका अनुसार २०७४ वैशाखदेखि असार मसान्तसम्ममा एक हजार ६०४ ले फर्म नवीकरण गरेका थिए । त्यसपछि कुनै पनि फर्मले नवीकरण नगरेको पौडेलले बताए ।

वाणिज्य कार्यालयका प्रमुख पौडेलका अनुसार अहिले २९ हजार फर्म छन् । लामो समयदेखि नवीकरण नभएका फर्मका कारण नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको राजश्व सङ्कलनमा समेत गिरावट आएको छ भने फर्म नवीकरण नगरिएका व्यवसायी सङ्घबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएका छन् । नवीकरण हुन नसकेका फर्मलाई नवीकरण गर्न शुक्रबारबाट उद्योग वाणिज्य सङ्घले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जमा सहायता कक्ष (हेल्प डेस्क) राखेको छ । सङ्घका महासचिव चिरञ्जीवी ओलीका अनुसार सरकारले नवीकरण खुला गरेपछि वाणिज्य कार्यालयमा बढी भीड हुने भएकाले संरक्षण कार्यालयमा हेल्प डेस्क राखिएको हो ।

हेल्प डेस्कमा सङ्घले आफ्ना कर्मचारी खटाएको छ । उनले भने, “सरकारले नवीकरण खुलाएर, नवीकरणबाट वञ्चित यहाँका १७ हजार व्यवसायीलाई राहत महसुस गराएको छ । यो कार्य अबदेखि नियमित हुनुपर्छ । व्यवसायीले पनि आफ्नो फर्म नवीकरण गरी सरकारी मापदण्ड पूरा गर्नेतर्फ बेलैमा अध्ययन पु¥याउन जरुरी छ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म रजिष्ट्रेशन (१२ औँ संशोधन) नियमावली, २०७६ मार्फत नवीकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाइएको हो । नयाँ व्यवस्थाअनुसार, फर्म नवीकरण गराउन नसकेका व्यवसायीले त्यसको कारण खुलाई २०७७ असार मसान्तभित्र नवीकरण गराउन पाउने छन् ।रासस



प्रतिक्रिया दिनुहोस्