Logo

छुटेको साथीलाई सम्झिदा



उषा शेरचन : 

जीवन न हो साथी
कहिले र कहाँ?
कसरी र कोसँग?
भेटिने र छुट्टिने
कुनै अत्तोपत्तो नै नहुने

तिमी तान्जानियाकी लिलियान
म नेपालको चन्द्रभूषण शाह
नियतिले हामीलाई
चीनको बुहान शहरमा
अत्यन्तै
सुखद भेट गरायो

जीवन आफ्नै लयमा
बगिरहेको थियो
जीवन आफ्नै धुनमा
बजिरहेको थियो
एक्कासी
महामारीका रूपमा फैलिएको
कोरोना भाइरस आतंकले
एक निमेषमैँ
कहिल्यै नसुत्ने
भीडभाडमय बुहान शहर
मृत शहरमा अनुदित भएर
सारा शहरको नक्सा नै बद्लियो
सधैंभरि व्यस्त देखिने सडक
सुनसान मसानघाटझैँ देखियो

बीसजनासँगसँगै बस्ने
एकै तलाका साथीहरू पनि
हामी दुईलाई मात्रै छाडेर
सबै आआफ्नै घर गएपछि
तिम्रो लागि म भएँ
अनि
मेरालागि तिमी मात्रै भयौ

त्यही आतंकको छाता ओढेर
भयङ्कर डर र त्रासको छायामा रहेर
एकअर्कालाई सान्त्वना दिँदै
डुब्न लागेको जिन्दगीलाई
जसोतसो बचाइ रह्यौँ
निभ्न लागेको टुकीमा
आश्वासनको तेल थपिरह्यौँ

यस्तैमा मेरो देशले
मलाई लिन आयो
तर
तिम्रो देशले
तिमीलाई लिन आएन

भेटिनु र छुटिनुको बाध्यताले
तिमीलाई त्यसरी एक्लै छाडेर
म एक्लै आफ्नो देश
फर्किनु पर्दा
खुसी हुनुको साटो
असङ्ख्य पीडाको
गहिरो दहमा खसेको अनुभूतिले
बेस्सरी रोयो मेरो मन

बाहिर हिउँ–पानी परेको
बुहानकै मौसमजस्तै
मलिन तिम्रो मुहार देख्दा
मनमा उर्लेका भावनाका
ताता छालहरू समेत
जमेर हिउँमा अनुदित
भएको अनुभूतिले
चसक्कै भयो मेरो मन

छुट्टिनु अघिल्लो दिन
‘काश म पनि नेपाली हुन्थेँ ‘भन्दै
तिमीले आँसुका दाना झार्दै गर्दा
असङ्ख्य दर्दनाक
शुल उठेर मनमा
मौन मौन आँसुको कर्णाली
पिइरहेको थिएँ म
र, पनि देखाउन सकिन मैले
अनि फर्किने दिन
बिदाइका हात पनि
हल्लाउन सकिन मैले

मनले त चाहन्थ्यो
तिमीलाई पनि साथै लैजान
तर
चरा होइनौँ हामी
नदी पनि होइनौँ
हावा पनि त होइनौँ हामी

हामी त मान्छे हौँ मान्छे
मात्रै मान्छे
कहिले हामीलाई
भुगोलको दूरीले छेक्छ
कहिले हामीलाई
हाम्रा साँध सिमानाले छेक्छ
कहिले हामीलाई
हाम्रो धर्म र जातले छेक्छ

ओ ! मेरी एक्ली साथी लिलियान
प्यारी प्यारी लिलियान
मृत्युको भूमरीमा
तिमीलाई एक्लै
छाडेर आउनु पर्दा
तिम्रो कस्सम
प्यारी साथी
अहिले मलाई
मान्छे भएर जन्मेकोमा
अत्यन्त पछुतो लागेको छ !
मान्छे भएर जन्मेकोमा
अत्यन्त पीडाबोध भएकोछ !!

नोट : शेरचनको फेशबुकबाट साभार गरिएको हो 



प्रतिक्रिया दिनुहोस्