Logo

तारा गाउँमा सरकारभन्दा माफिया बलियो, मन्त्रिपरिषद्सम्म चलखे



काठमाडौं, २७ फागुन । बौद्धस्थित हायात होटल नेपालको सबैभन्दा आकर्षक होटलमा पर्दछ । पर्यटन मन्त्रालय अन्र्तगतको तारा गाउँ विकास समितिको समेत शेयर भएको होटल हो यो । अहिले पनि समितिको एक सय ४८ रोपनी जग्गा होटलले लिजमा लिएर प्रयोग गर्दै आएको छ ।

यत्रो होटलमा शेयर लगानी भएको समितिको कार्यालय पनि भव्य होला भन्ने धेरैलाई लाग्छ । तर, ताहाचलस्थित कार्यालय पुग्दा दया लाग्ने अवस्था छ । थोत्रो घर भाडामा लिएर कार्यालय राखिएको छ । समितिमा भूमाफियाको चलखेल हुँदा यस्तो अवस्था आएको हो । बौद्धस्थित हायात होटेलको गेटसँगैको चार रोपनी तीन आना सरकारी जग्गा हालसम्म व्यक्तिले कब्जा गर्दै आएका छन् । ०२६ सालमा सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा हाल तारा गाउँ विकास समितिको नाममा छ । तर, उक्त जग्गामा समितिले मातहत ल्याउन सकेको छैन । मुख्य सडकमै जोडिएको सो जग्गाको मूल्य करिब एक अर्ब रुपैयाँ छ । सर्वाेच्च अदालतले समेत जग्गा समितिकै नाममा हुने फैसला गर्दा पनि लामो समयदेखि खाली गराउने पहल भएको छैन । जग्गा धनीले केही माफियालाई लगाएर उल्टो सो जग्गा आफ्नो नाममा ल्याउने प्रयास गरिरहेका छन् ।

मन्त्रिपरिषद्सम्म चलखेल

सार्वजनिक लेखा समितिको निर्णयलाई आधार बनाएर जग्गा फिर्ता दिलाउन उच्च नेताहरू नै सक्रिय रहेको र उनीहरूले दबाब दिइरहेको तारा गाउँ विकास समितिका एक अधिकारीले बताए । ०६६ मा सो जग्गा व्यक्तिलाई दिन तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारीले मन्त्रिपरिषद्मै प्रस्ताव पेस गरेका थिए । तर, माधवकुमार नेपालको मन्त्रिपरिषद्बाट निर्णय भने भएन ।

पर्यटन मन्त्रालयका तत्कालीन सचिव डा. गणेशराज जोशीले लेखा समितिलाई लेखेको पत्रमा त्यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्मा लगे पनि निर्णय नभएको उल्लेख गरिएको छ । केही बिचौलिया समूहले नै यसरी सर्वाेच्चको फैसलालाई समेत गलत व्याख्या गरेर मन्त्रिपरिषद् प्रस्ताव लैजान सफल भएको हो । बालुवाटारको जग्गा पनि मन्त्रिपरिषद्बाटै निर्णय गराएर बिक्री भएको थियो । यसैगरी नीतिगत रुपमा निर्णय गरेर बहुमुल्य जग्गा व्यक्तिको नाममा लैजान पहल भइरहेको छ ।

संसद्को सार्वजनिक लेखा समितिले समेत व्यक्तिलाई नै जग्गा दिन निर्णय गरेको कागजपत्र भेटिएको छ । सोही निर्णयलाई आधार बनाएर अहिले पनि जग्गा फिर्ता विभिन्न शक्तिकेन्द्रले समितिलाई दबाब दिएका छन् । समितिले नै जग्गाको मालपोत राजस्व तिर्दै आएको छ, तर सो जग्गामा विभिन्न व्यक्तिले घरटहरा बनाएर त्यसको भाडा उठाउँदै आएका छन् ।

१८ मंसिर ०६८ मा लेखा समितिले सो जग्गा सम्बन्धित व्यक्तिलाई नै बिक्री गर्न निर्देशन दिने निर्णय गरेको थियो । समितिका तत्कालीन सचिव सोमबहादुर थापाले प्रधानमन्त्री कार्यालय तथा पर्यटन मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘तारा गाउँ विकास समितिको अधिग्रहण गरेको जग्गाको विवादका सम्बन्धमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति ०६८÷४÷३ मा सार्वजनिक लेखा समितिमा प्राप्त पत्रअनुसार रजिस्ट्रेसनका प्रयोजनका लागि भोगाधिकार पक्षले जग्गाको क्षतिपूर्ति र मुआब्जा नपाएको तथ्यलाई विचार गरी उक्त जग्गा भोगाधिकार पक्षलाई राजीनामाका माध्यमबाट बिक्री गर्ने निर्णय गर्न मन्त्रिपरिषद् र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय सर्वसम्मतिले गरियो । पर्यटन मन्त्रालयको ०६८÷४÷३ को पत्र यसैसाथ संलग्न गरिएको व्यहोरासमेत अनुरोध छ ।’

गलत व्याख्या गरेर फिर्ता दिने प्रयास

जग्गा प्राप्ति ऐन २०१८ अनुसार सरकारले त्यस क्षेत्रको तीन सय ४७ रोपनी नौ आना जग्गा २० साउन ०२६ सालमा राजपत्रमा सूचना निकाली दीर्घकालीन प्रयोजनका लागि लिएको थियो । तत्कालीन नेपाल महिला संगठनको नाममा जग्गा अधिग्रहण गरिएको थियो । पछि तारा गाउँ विकास समितिको नाममा लगिएको हो । विगतमा समितिका कर्मचारीले अदालतमा तारेखसमेत गुजारेर मुद्दा हार्न भूमिका खेलेको छानबिनमा देखिएको छ ।

राजाको हुकुमप्रमांगीका आधारमा ४ फागुन ०२८ मा तत्कालीन बागमती अञ्चलाधीशको कार्यालयले जग्गाधनी जगन्नाथ लम्सालका छोरा मन्दिरप्रसादलाई घर र घरले चर्चेको जग्गा भोगाधिकार दिने निर्णय भएको थियो । त्यहाँ थप संरचना बनाउनसमेत महिला संगठनको सहमति चाहिने सर्त राखिएको थियो । भोगाधिकारको निर्णयलाई जग्गा फिर्ता गरिएको व्याख्या गरेर अहिले पनि चलखेल भइरहेको हो । मन्दिरप्रसादको मृत्यु भइसकेको छ । भोगाधिकार सम्बन्धित व्यक्तिबाट अन्यमा नसर्ने कानूनी प्रावधान छ ।

विगतका जग्गाधनी र समितिबीचको विवाद ०६२ मै सर्वाेच्च अदालतबाट टुंगिएको थियो । १९ जेठ ०६२ मा न्यायाधीशहरू अनुपराज शर्मा, अर्जुनप्रसाद सिंह र राजेन्द्रकुमार भण्डारीको इजलासले ‘जग्गा किचलो’ मुद्दामा सो जग्गा ‘घर र घरले चर्चेको जग्गासम्ममा प्रत्यक्षी मन्दिरप्रसाद लम्सालको भोगाधिकारसम्म यथावत् कायम हुने देखिन्छ’ भन्ने फैसला गरेको थियो । जसअनुसार ०६३ बाटै सो जग्गा खाली गराउनुपर्नेमा थप संरचना बनाई भाडामा दिँदै आइएको छ । यसमा समितिको समेत मिलेमतो रहेको स्रोत बताउँछ ।

तीन महिनाअघि नियुक्त भएका समितिका अध्यक्ष प्रह्लाद न्यौपाने भने व्यक्तिको नाममा जग्गा लैजान चलखेल भए पनि समितिमातहत नै ल्याइने बताउँछन् । जग्गा खाली गर्न उनले ३५ दिने सूचना निकालिसकेका छन् । आफुलाई सरकारबाट सहयोग भए सो घरजग्गामा डोजर लगाउने उनको भनाइ छ ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्