Logo

कोरोनाले विश्व खेल क्षेत्रमा धक्का, दर्जनौँ प्रतियोगिता स्थगित



फागुन २८, काठमाण्डौ । यस वर्ष सम्पन्न हुनुपर्ने विभिन्न खेलकूदु प्रतियोगिता प्रभावित भएका छन् । कोरोना भाइरसका कारण अन्तराष्ट्रिय स्तरका दर्जनौँ खेलहरु स्थगित गरिएको छ । समग्र खेल क्षेत्र र खेलाडिहरुका लागि यो वर्ष दुखद हुने भएको छ ।

कोरोनाको त्रासका कारण फुटबलको च्याम्पियन्स लिग, स्पेनको लालिगा र इङ्ल्याण्डको प्रिमियर लिग प्रभावित भएका छन् । त्यसैगरी इटालीको सिरी ए पनि प्रभावित भएको छ । कतिपय खेलहरु बन्द रंगशालामा दर्शकबिना खेलाइएको छ भने अधिकांश खेलहरु स्थगित नै गरिएको छ । फुटबलबाहेक अन्य विधाका खेलहरु पनि धमाधम स्थगित गरिएको छ ।

विश्व एथ्लेटिक्स इन्डोर च्याम्पियनसिपमा सन् २०२१ सम्मका लागि स्थगित भएको छ । मार्च १३ देखि १५ सम्मा नानजिङमा हुने भनिएको प्रतियोगिता २०२१ का लागि सारिएको छ । यस्तै उत्तर कोरीयाले पनि पेङयोङ म्याराथनलाई स्थगित गरेको छ । अप्रिलमा हुने भनिएको यो प्रतियोगिता पनि कोरोनाका कारण स्थगित भएको हो । यस्तै सियोल म्याराथन पनि स्थगित भएको छ ।

दक्षिण कोरीयामा कोरोनाको संक्रमण बढ्दै गएका कारण आयोजकले सियोल म्याराथन स्थगित गरेको हो । यस्तै पेरीस हाफ म्याराथन पनि स्थगित भएको छ । फ्रेन्च सरकारले जमघट हुने सबै कार्यक्रम रद्द गर्न निर्देशन दिएपछि यो प्रतियोगिता पनि स्थगित भएको हो । यस्तै मार्च १५ मा हुने भनिएको बार्सिलोना म्याराथन पनि अक्टोबरसम्मका लागि सारिएको छ । ब्याटमिन्टनमा पनि जर्मन ओपन, भियतनाम ओपन, पोलिस ओपन, ओलम्पिक छनोटका खेलहरु सबै श्वास्थ्यको अवस्थाका कारण रद्द भएका छन ।

बक्सिङमा ओलम्पिक छनोटका खेलहरु अन्तराष्ट्रिय ओलम्पिक कमिटीले रद्द गरेको छ । उहानमा हुने भनिएका यी खेलहरु अब जोर्डनको अमानमा राखिएको छ । तर त्यहाँपनि खेल हुनेमा शंका नै रहेको छ । यस्तै जापनीज बक्सिङ कमिसनले सबै इभेन्टहरु स्थगित गरेको छ । क्रिकेटमा श्रीलंका टुरका बेला इंग्ल्याण्डका खेलाडीले हात नमिलाउने भएका छन । कोरोनाको त्रासका कारण नै दक्षिण अफ्रिकाका खेलाडीले पनि भारतीय खेलाडीसँग हात नमिलाउने भएका हुन ।

फुटबलमा पनि चाइनीज फुटबल संघले यो सिजनमा सबै लिग खेलहरु स्थगि गरेको छ । यस्तै एएफसीले विश्वकप तथा एशियन कप छनोटका खेलहरु स्थगित गरेको छ । यस्तै चाइनीच ग्राण्डपिक्स पनि स्थगित भएको छ । बहराईन ग्रापी पनि विना दर्शक रेस हुने भएको छ । जापानमा हुने टोकियो ओलम्पिकमा पनि कोरोनाको प्रभाव पर्ने देखिएको छ । आउदो जुलाई अन्तिम र अगष्ट पहिलो साता हुने भनिएको टोकियो ओलम्पिक दुई बर्ष सार्ने तयारी भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्