Logo

खनालले पेलेकालाई च्याप्दै आईजीपी ज्ञवाली



काठमाडौं, ३० फागुन । नेपाल प्रहरीभित्र गजबको घटना विकास हुँदैन । निवर्तमान आईजीपी सर्वेन्द्र खनालले आपराधिक गिरोहसँग साँठगाँठमा कारबाही चलाएकाहरुलाई वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले च्यापेका छन् । अबको चार महिनाभन्दा कम समय आईजीपी रहने ज्ञवालीको यो कदमले खनाल समेत त्रसित हुनुपर्ने अवस्था आएको बुझिएको छ ।

खनालले गुण्डानाइके समिरमानसिंह बस्नेतमाथि सम्बन्ध राखेको भन्दै डिएसपी कुमुद ढुंगेलमाथि कारबाही चलाए । अदालतसम्म यो विषय पुग्यो । बस्नेतलाई भेटेका र नजिकको सम्बन्ध बनाएका गृहमन्त्री रामबहादुर थापा बादलका भाईलाई समेत खनालले नै पक्राउ गरेका थिए । ढुंगेल खनालको कार्यकालमा भूमिगत जस्तै भए । उनले पुस्कर कार्की आईजीपी बनेपछि देखाइदिने भन्दै हिंडे । तर, कार्की आईजीपी बन्न सकेनन् । खनालले पेलेका ढुंगेललाई जोगाएर अगाडि बढाउन वर्तमान आईजीपी ज्ञवालीका निकटस्थहरु नै लागेका छन् । प्रहरीभित्र कोभर्ट तरिकाले अनुसन्धान गर्ने अधिकृत भन्दै ढुंगेललाई सफाई दिने गरी प्रक्रिया बढाइएको विश्वस्त स्रोतले विमर्शलाई जानकारी दिएको छ ।

यसैगरी, ज्ञवालीले रमेश बजगाईंलाई घुमुवा टोलीको इञ्चार्ज बनाएका छन् । गुण्डानाइके समिरमानसिंह बस्नेतसँगको साँठगाँठको प्रमाण आईजीपी सर्वेन्द्र खनालको टेबुलमा पुगेपछि कारबाहीमा परेका थिए बजगाईं । उनको कनेक्शन पूर्व एआईजी पुष्कर कार्की र कारबाहीमा परेका डिएसपी कुमुद ढुंगेलसम्म पनि थियो । ज्ञवाली आईजीपी भएलगत्तै नयाँ टिम आएको छ ।जसमा अधिकांश खनालबाट पेलिएकाहरु छन् । भुपेन्द्र खत्री पूर्व आईजीपी खनालले नरुचाएका एसपी हुन् । उनलाई पनि च्यापेका छन् ।

बढुवामा चार नम्बरमा पारेको भन्दै आईजीपीका भाई श्याम ज्ञवाली पूर्व आईजीपी खनालसँग असन्तुष्ट रहँदै आएका थिए । त्यसप्रति हालका आईजीपी ज्ञवाली पनि असन्तुष्ट थिए । त्यही झोकमा अहिले उपेन्द्रकान्त अर्याल नजिक मानिएकाहरुलाई ज्ञवालीले धमाधम स्थान दिदैछन् । भूपेन्द्र खत्री सचिवालय लगिएका छन् । बजगाईंको नक्शाल प्रवेशले तरंग ल्याएको छ । घुमुवा टोलीको इञ्चार्ज बन्नु भनेको उनले विगतमा भएका विवादास्पद कदमलाई फेरि निरन्तरता दिनु नै हो भन्ने देखिन्छ ।

यसैगरी, आईजीपी ज्ञवालीलाई पाँच महिने आईजीपी भन्दै प्रहरी अधिकृतहरुले टेर्न छाडेका छन् । त्यसमाथि उनले गृहसचिवसँग समन्वय गर्न सकेनन् । गृहसचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई गन्न छाडेका छन् । उनले नेपाल प्रहरीमा डिआईजीको दरबन्दी कटौतीको तयारी गरिसकेका छन् । कम्तिमा दशजना डिआईजीको दरबन्दी घटाउने तयारीले अन्तिम रुप पाइसकेको छ । प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएर बस्ने मन्त्रिपरिषद् बैठकले यसको टुंगो लगाउनेछ । हाल ३४ डिआईजीको दरबन्दी भएकोमा त्यसमा केही घटाइने तयारी भएको हो । प्रत्येक डिआईजीका लागि सेवा सुविधामा राज्यले ठूलो खर्च गर्नुपर्ने अवस्था छ । विगतमा आफ्नालाई अवसर दिन विना अध्ययन डिआईजी र एआईजीको दरबन्दी बढाइएको थियो । नेपाल प्रहरीमा तीन एआईजीको मात्र दरबन्दी राखिएको छ । तर, डिआईजीका दरबन्दी भने पुरानै छ ।

बिगतमाएआईजी दरबन्दी घटाइँदा राज्य खर्च केही घटेको थियो । यसपटक डिआईजीमा कम्तिमा दश पद घट्ने सम्भावना रहेको बुझिएको छ । हाल दुई दर्जनभन्दा बढी डिआईजीको दरबन्दी रिक्त छ । यसले प्रहरीभित्र खैलाबैला ल्याएको छ । डिआईजी बढुवाका लागि एसएसपीहरु दौडधूप गरिरहँदा दरबन्दी कटौती प्रक्रियाले खैलाबैला भएको हो ।तर, आईजीपी ठाकुरप्रसाद ज्ञवाली दरबन्दी घटाउन नदिने पक्षमा छन् । उनी बढुवाको लाइनमा रहेका अधिकृतहरु एसएसपी र एसपीबाटै घरजाने परिस्थिति आउँदा आफू संगठनभित्र अलोकप्रीय हुनुपर्ने चिन्तामा रहेको बुझिएको छ ।

यसअघिका आईजीपी सर्वेन्द्र खनालका ब्याची तीन एआईजी र १८ डिआईजीले एकैपटक अवकाश पाएपछिको अवस्थामा २२ पद खाली रहेको छ । ज्ञवाली डिआईजीबाट सिधै आईजीपी बने । तीन डिआईजीको एआईजीमा बढुवा सिफारिश भइसकेको छ । महेशविक्रम शाह तीन महिना अघि नै अवकाश पाइसकेका छन् । विशेष पद सृजना गरेर राजेन्द्रमोहन श्रेष्ठको डिआईजी बढुवा भएको थियो । उनी पनि अवकाश पाएपछि उक्त दरबन्दी स्वतः खारेज भएको छ । हाल प्रहरीमा १२ डिआईजी छन् । उनीहरुमध्ये हालका आईजीपी ज्ञवाली र एआईजीमा सिफारिश भएका शैलेश थापा र हरि पालका ब्याची छन् । विश्वराज पोखरेल एकजनामात्र जुनियर ब्याचका हुन् ।
अब डिआईजी बढुवाका लागि ९१ औं समूह अर्थात् शैलेश थापाका ब्याची समेत छन् । त्यसपछिका विश्वराज पोखरेलको ब्याची मात्र नभई जुनियर ब्याची पनि बढुवाको प्रतिष्पर्धामा छन् । सिनियर ब्याचबाटै १६ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् । बढी संख्यामा दरबन्दी खाली भएकाले तीनवटा ब्याचका एसएसपीहरु बढुवाको प्रतिष्पर्धामा भएका हुन् । अचानक दरबन्दी कटौतीको विषय आएपछि धेरैजना निराश हुनथालेका छन् ।

२२ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि ३४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा हुँदैछ । एसएसपी धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा र रामकृपाल शाह सिनियर हुन् । उनीहरु डिआईजी विश्वराज पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि डिआईजी बढुवा हुँदा पछि परेका थिए । त्यस्तै उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक बढुवाका प्रमुख दाबेदार छन् ।

२०७५ वैशाखमा एसएसपीमा बढुवा भएका सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । पहिलो सिनियर ब्याचका १६ जना तथा जुनियर ब्याचका १९ जना प्रतिस्पर्धामा छन् । सिनियर ब्याचका केही एसएसपीहरु पटक पटक कारबाहीमा परेको र कार्यक्षमतामा कमजोर भएकाले छुट्ने सम्भावना छ ।-विमर्शबाट  File Photo



प्रतिक्रिया दिनुहोस्