Logo

अनेरास्ववियू पूर्व केन्द्रीय सदस्य राई बलात्कार अभियोगमा दोषी ठहर



काठमाडौं, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राई जर्बजस्ती करणी कसूरमा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको हो ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई बिहिबार कैद सजाय सुनाएको हो । पीडितलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला समेत गरेको छ ।

राईमाथि भैली खेल्न जाने बहानामा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । ११ कात्तिकको घटनामा युवतीलाई मोटरसाइकलमा राखी आफन्तको डेरामा लगी राईले बलात्कार गरी डर त्रास देखाएको अभियोग थियो ।

युवतीले घटनाबारे दिदीलाई जानकारी गराएपछि महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो । उजुरीपछि प्रहरीले राईलाई पक्राउ गरेको थियो ।

अनेरास्ववियूमा रहँदा राईलाई भविष्य बोकेका विद्यार्थी नेताका रुपमा हेरिएको थियो । बलात्कारको घटनापछि उनको राजनीतिक भविष्य समाप्त भएको अनेरास्ववियूभित्र चर्चा चलेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्