Logo

प्रधानमन्त्रीले केही दिनमै मन्त्रिपरिषद् बैठक डाकेर कामलाई गति दिनुहुन्छ- विष्णु रिमाल



काठमाडौं, १ चैत्र । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल खरो र प्रष्ट बोल्छन् । उनले प्रधानमन्त्रीले बालुवाटारबाटै सरकारको काममा सक्रियता देखाउने बताएका छन् । रिमालसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
हिजो अस्पतालबाट डिस्चार्ज भएर आएपछि प्रधानमन्त्रीले नेताहरुसँगको छोटो कुराकानीमा के के भन्नुभयो ?
प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुनुभएपछि औपचारिक रुपमा स्वास्थ्यमन्त्री, मन्त्रीहरु, अन्य नेता, कार्यकर्ता जो उहाँलाई घर पुर्याउन आउनुभएको थियो उहाँहरुसँगको छोटो कुराकानी मात्रै भएको हो । त्यतिबेला उहाँले आफू स्वस्थ भएको पनि जिज्ञासा राख्नुभएको थियो । त्यसैले विश्वमा फैलिएको कोरोना भाइरसबाट कसरी जोगिने भनेर प्रधानमन्त्रीज्यू, मन्त्री, सचिवज्यूहरुसँग कुरा गर्नुभयो । उहाँहरुले तपाईंंहरुले जसरी तयारी गरिरहनुभएको छ । त्यसलाई अझ प्रभावकारी बनाउन सुझाउनुभयो । यो सामान्य रोग होइन महामारी हो । त्यसैले काठमाडौंमा रहेका अस्पतालहरुलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन लाग्नुस् भन्नुभयो । अहिलेसम्म जे–जति मेहनत गर्नुभएको छ, त्यसलाई अझ प्रभावकारी बनाउनुस भनेर प्रधानमन्त्रीले निर्देशन पनि दिनुभयो । साथै उहाँले हामीसँग केही जिज्ञासाहरु राख्नुभयो । हामीहरुले पनि ‘आज तपाईं भर्खर आउनुभएको छ,’ अब सल्लाह गरेर अगाडि बढ्नुपर्छ भनियो ।
अब प्रधानमन्त्रीको दैनिक कार्यहरु कसरी अगाडि बढ्छ त ?
उहाँको दैनिक कार्य त पहिला जसरी अगाडि बढेको छ । त्यसरी अहिले पनि बढ्ने हो । उहाँ त्यतिकै बस्ने मान्छे होइन । अस्पतालमा हुँदा पनि सूचना अपडेट गरेर बस्नुहुन्थ्यो । अस्पतालमा हुँदा पनि उहाँले अस्तिदेखि आईप्याड प्रयोग गरेर बाहिर भएको सूचनालाई अध्ययन गरिरहनुभएको थियो । हामीले भेट्न नपाउँदा पनि उपचारमा संलग्न डाक्टरसँग बाहिरका सूचनाहरु लिने अध्ययन गर्ने गर्नुहुन्थ्यो । प्रधानमन्त्रीज्यूले एउटा मन्त्रिपरिषद्को मिटिङ राख्नुहुन्छ । मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णय त्यहाँबाट हुन्छ । मन्त्रिपरिषद्बाट गराउन नपर्ने निर्णयहरु त पहिला जसरी भएको थियो, त्यही तरिकाले अगाडि बढ्छ ।
अब प्रधानमन्त्रीलाई दैनिक काम गर्न कुनै समस्या पर्दैन ?
उहाँले संक्रमणबाट जोगिएर काम गर्ने हो । डाक्टरहरुले पनि त्यही नै भन्नुभएको छ । ठूला–ठूला भीडभाड जानुहुँदैन । भीडभाडमा त कोरोनाका कारणले तपाईं, हामीलाई पनि जान प्रतिबन्ध छ । हामीलाई भन्दा बढी सतर्कता उहाँलाई चाहिन्छ । किन भने मृगौला प्रत्योरोपण गरेका व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता एकदम कम भएको हुन्छ ।
त्यसोभए एक हप्ताभित्रमा मन्त्रिपरिषद् बैठक बस्छ ?
त्योभन्दा छिट्ट बस्ला मन्त्रिपरिषद्को बैठक त । त्यो बैठक कस्तो भनेको जुन निर्णय मन्त्रिपरिषद्ले नै गर्नुपर्ने हो त्यसको लागि मात्रै बस्नुपर्ने हो । त्यस्तो निर्णय गर्नुपर्ने छैन भने मन्त्रिपरिषद्को बैठक बस्न आवश्यक छैन । मन्त्रिहरुले सिधै निर्देशन दिएर काम गर्न सकिहाल्नुहुन्छ नि ।
कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नुपर्छ भनिरहनु भएको छ, प्रधानमन्त्रीले छलफल त गर्नुपर्छ होला नि मन्त्रीहरुसँग ?
कोरोनाविरुद्ध धोतिपाटा फेरेर हिड्नुपर्ने होइन नि । यो विश्वव्यापी समस्या हो । त्यसको लागि हिजो राति ११ बजेसम्म सिंहदरबारका कर्मचारी हुनुहुन्थ्यो । आज पनि दिनभरि खटेर काम गरिरहनुभएको छ । उपप्रधानमन्त्रीको नेतृत्वमा एउटा उच्चस्तरीय निर्देशक समिति र मूख्य सचिवको नेतृत्वमा त्यो कामलाई सशक्त ढंगले अगाडि बढाउने समिति बनेको छ । ती समितिहरुले सशक्त ढंगले काम गरिरहेको छ । रातारात खेत खनेको जस्तो त होइन । कामहरु भइरहेका छन् जस्तो कालोबजारीलाई रोक्ने वाणिज्य मन्त्रालयले काम गरेको छ । उद्योग, आपूर्तिले अपुग सामानलाई फूलफिल गर्न काम गरिरहेको छ ।
पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापनमा प्रधानमन्त्री सक्रिय भएर कसरी लाग्नुहुन्छ ?
पार्टीभित्र द्वन्द्वहरु हुँदै जान्छन् । नेताहरु बसेर छलफल र बहस गर्नुहुन्छ । आइपरेका अप्ठ्यारामा सल्लाह पनि होला त्यो ठूलो कुरा होइन । एउटा जीवन्त पार्टीभित्र बहस, छलफलहरु भइरहन्छन् । हिजो, अस्ति जसरी चलेका थिए त्यसै गरी चल्दै जान्छन् ।
सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटिका बैठकहरु कहिले बस्छन् ?
हाम्रो पार्टीको विधान अनुसार केन्द्रीय कमिटि बैठक छ÷छ महिनामा बस्ने हुन् । अस्ति भरखर्र बैठक बसेको एक महिना पनि भएको छैन, त्यसैले त्यसको बारेमा चर्चा गर्ने बेलै भएको छैन । सचिवालय बैठक नियमित बस्ने काम भएको छ । सरकारका काममा बढी केन्द्रित हुनुहुन्छ । अर्का अध्यक्षलाई पार्टीको कामको जिम्मा दिनुभएको छ उहाँले ।
सचिवालयको निर्णय अनुसार वामदेवलाई राष्ट्रियसभामा ल्याउनुपर्छ भनेर हिजो नेपाल, खनाल र प्रचण्डलगायतका नेताहरु लागेका छन् ?
यस्ता कुरा जुन एकतर्फी ढंगले मिडियामा आएका विषयलाई एकतारे बजाइरहँदैन नि पार्टीले । त्यसका बारेमा पार्टीका नेताहरुले छलफल गर्नुहुन्छ । कुनै निर्णय कार्यान्वयन गर्ने पर्ने भने गराइन्छ । कुनै त्यस्ता छन् कार्यान्वयन गर्न आवश्यक छैन भने गराइँदैन । एकतर्फी ढंगले मिडियामा आएका कुरामा पार्टी केन्द्रित भएर हिँड्दैन नि । पार्टीले आफ्नो ढंगले निर्णय गरेर अगाडि बढिहाल्छ नि ।
प्रधानमन्त्री अस्पतालबाट फर्केपछि निर्णय बदलिन्छ भनेर धेरैले अनुमान गरेका रहेछन् नि ?
त्यो त मिडियामा आएका कुरा न हुन् । त्यो प्रधानमन्त्रीले र अरु नेताहरुले बोल्नुभएको कुरा होइन । आवश्यक परेका कुरा गरिहाल्छन् नि ।
त्यसोभए राष्ट्रियसभा सदस्यमा सरकारले कसलाई सिफारिस गर्दछ त, राष्ट्रपतिकोमा सिफारिस त गर्नुपर्छ ?
यो मैले जवाफ दिन अलि नमिल्ने कुरा भयो नि ।
तपाईं त प्रधानमन्त्रीको प्रमुख सल्लाहकार हो नि ?
यी विषयहरु त्यहाँ आउँछन् र ऋषिजी ? त्यहाँ त आउँदैन होला । सचिवालयमा म भन्दा माथि ९ जना हुनुहुन्छ । मेरो रोल नम्बर त्योभन्दा धेरै तलपर्छ । त्यसमा मभन्दा माथिका नेताहरुले एक ढंगले छलफल गरिरहनुभएको होला । माथिल्लो तहमा गरिएका कतिपय कुराहरु औपचारिक छलफल नभइकन माथि आउँदैनन् । तपाईं, हामीहरुलाई चाँडै जान्ने इच्छा भयो भन्दैमा त तल आउँदैन नि ।
पार्टींको निर्णय नेताहरुले मान्नुपर्छ भनिएको छ नि ?
त्यो त सोध्नुपर्ने विषय नै भएन नि । त्यो त सैदान्तिक कुरा पनि हो । पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । पार्टीको नमान्ने भए उहाँ कसरी प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले पार्टीको निर्णाय उहाँको निर्णय भइहाल्छ नि ।
त्यसोभए वामदेव गौतमलाई राष्ट्रिसभा सदस्य बनाउन प्रधानमन्त्री तयार हुनुहुन्छ ?
त्यो मेरो अधिकारको घेराभन्दा बाहिरको कुरा पर्यो ।
राष्ट्रियसभामा वामदेवलाई ल्याउने भनेर त सचिवालयले निर्णय गर्यो नि ?
वामदेव कमरेड जत्तिको मान्छेलाई पार्टीको कुन–कुन तहमा लिएर जाने भन्ने कुरा त पार्टीका नेताहरुले निर्णय गरिहाल्छन् । यसलाई बहसको विषय बनाउनै परेन नि ।
वामदेव गौतमले प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नैपर्छ भन्ने तर्क पनि बाहिर आएको छ नि ?
अहिले मिडियामा समाचारको खडेरी भएको देख्दा दिक्क लाग्छ । एउटै पार्टीका नेता, कार्यकर्ता भेटघाट गरेको कुरा पनि समाचार बन्छ ।
हाम्रो देशमा त बनिरहेको छ नि ?
हाम्रा सञ्चारमाध्यमसँग समाचार छैन । त्यसकारण आफ्नै मनमा लागेका कुरालाई समाचार बनाइरहेका छन् । अहिले त सञ्चारमा माध्यमहरु कस्ता भइसके भने आफै बिस्कुन लगाऊ आफै उठाउको अवस्थामा पुगेका छन् । जस्तो अस्ति एउटा चर्चितै मिडियाले प्रधानमन्त्रीलाई संक्रमण भनेर सनसनीपूर्ण समाचार बनाएर छ्यापछ्याप भएका छन् । अब हामीले त्यसलाई समर्थन गर्नु कि विरोध भन्ने भएको छ । अनलाइनहरुले त झन् अघिल्लो दिन आफैले समाचार लेखिदिन्छ भोलिपल्ट आपैmले हटाइदिन्छ । त्यसकारण तपाईं, हामी जस्ता मान्छे जसले विषयवस्तु बुझेका छौं यस्ता कुराको पछाडि लाग्नुहुँदैन ।
तपाईं पनि माधव नेपाललाई भेट्न जानुभएको थियो नि ?
आफ्नो पार्टींका नेताहरुलाई किन नभेट्ने । माधव नेपाललाई त हामीहरुले भेट्नलाई टाइम पाउँदैनौं । किनभने उहाँ सिनियर नेता हो । उहाँहरुसँग भेटेर हामीले निर्देशन लिनुपर्ने हुन्छ । किन आफ्नो पार्टीको नेतालाई भेट्न नपाउने हो र , म त विरोधी दलका नेताहरुलाई त भेट्न सकिन्छ झन् आफ्नो पार्टीको नेतालाई भेट्न किन नपाउनु ?
त्यसोभए प्रधानमन्त्रीलाई बलियो बनाउन तपाईंले माधवकुमार नेपालसँग पनि कुरा गर्नुभयो ?
सरकारलाई बलियो बनाउने, प्रधानमन्त्रीलाई बलियो बनाउने र सुखी नेपाली समृद्ध नेपाललार्इृ प्रभावकारी बनाउने हाम्रो कामै यही हो ।
तपाईंले हाम्रो बहस सुन्नुभएको छैन र प्रत्येक दिन ?
त्यही सुनेको भएर त धन्यवाद भनेको नि । तपाईंहरुले हाम्रो अभियानलाई साथ दिनुभएको छ । त्यसको लागि धन्यवाद ।
त्यसोभए प्रधानमन्त्री र माधवकुमार नेपालबीचको सम्बन्ध सुदृढ हुनलागेको पछिल्लो समय ?
प्रधानमन्त्रीको नेताहरुसँगको सम्बन्ध सधैं राम्रो छ नि नराम्रो केहाँ छ ? कुनै–कुनै विषयमा बहस हुन्छ त्यसपछि एउटा निष्कर्षमा पुगिन्छ । सबै नेताहरुसँग सम्बन्धमा राम्रो हुन्छ । मिडियामा आएको जस्तो होइन । एउटै पार्टीमा बसेर बोलचालै नहुने भए त त्यो एउटै पार्टीको हुँदै भएन नि ।
त्यसोभए माधव नेपाल र प्रधानमन्त्रीबीच सहमति हुन्छ ?
सहमति पहिलादेखि नै छ नि । असहमति कहाँ छ र ? सचिवालयका ९ जना नेताहरुबीचमा त्यसै पनि राम्रो सम्बन्ध छँदैछ । व्यक्तिगत सम्धन्ध पनि सबैको राम्रो छ । कहिलेकाही कुनै विषय छलफल बन्छ कुनै कुनै कुरामा फरकमत हुन्छ । ती विषय कहिलेकाही समाचार बन्दिन्छ । त्यसले उहाँहरुबीच विवादमा हुन्छ ।
प्रधानमन्त्रीको सपोर्टमा माधव नेपाललाई आउने तपाईंको लबिङ कत्तिको सफल भयो ?
मैले अगाडि पनि भनेको छु, समाचार त हामी आपैm बनाउँछौं, आपैm मेट्छौं । मिडियाको कुरा आफै बिस्कुन सुकाउने, आपैm उडाउँने अहिलेका समाचारहरु त्यस्तै भइरखेका छन् । अब मैले मेरो नेतालाई भेटेको, कार्यकर्तालाई भनेको समाचार बन्छ भने त समाचारको खडेरी रहेछ भन्नुपरिगो नि ।
कोरोनाविरुद्ध लड्न सार्कलाई बलियो बनाउन मोदीले टुइट गर्नुभयो, ओलीले समर्थन गर्नुभयो किन ?
ठीक हो । भारतीय प्रधानमन्त्रीले कोरोनाका विरुद्ध हामी सार्थक मुलुकहरु एकसाथ लडौ भनेर टुइट गर्नुभयो । उहाँले भिडिया कन्फरेन्सबाट कुराकानी गरेर अगाडि बढौं, ‘दक्षिण एशियामा कोरोनाविरुद्ध कसरी लड्ने भन्ने एउटा उदाहरण नै कायम गरौं’ भन्ने भारतीय प्रधानमन्त्रीको आह्वान थियो । त्यसलाई हाम्रो प्रधानमन्त्रीज्यूले अस्पतालबाट डिस्चार्ज हुनुअगाडि ने रेस्पोन्स गर्नुभयो । र, सार्क मुलुकलाई कोरोनाबिरुद्ध एक हुनुप¥यो भन्नुभयो उहाँले तुरुन्तै समर्थन गर्नुभयो । हाम्रा प्रधानमन्त्री जस्तै श्रीलंका, भुटानलगायतका सार्कमा संलग्न मुलुकका प्रधामन्त्री तथा राष्ट्रपतिहरुले समर्थन गर्नुभयो ।
कोरोना भाइरसविरुद्ध लड्न सार्कको नेतृत्व आवश्यक छ ?
यसमा हामीले खुसी किन मानौं भने हामी त यसको अहिले अध्यक्ष हुँ । हाम्रा प्रधानमन्त्री विरामी नहुनुभएको भए हामीले आह्वान गर्ने थियौं । हाम्रो प्रधानमन्त्री बिरामी भएको बेलामा भारतीय प्रधानमन्त्रीले आह्वान गर्नुभयो । त्यो धेरै राम्रो हो । सार्कको आह्वान भारतीय प्रधानमन्त्रले गर्नुभएको र नेपाल त्यसको अध्यक्ष भएकाले नेपालले समर्थन गर्ने नै भयो नि ।
अब विदेशबाट आउनेलाई क्वारेनटाइनमा राख्न हामी सक्षम हुन्छौं ?
त्यो त हामीले गर्नुपर्छ नि नगरी हुँदैन । रोगविरुद्ध लड्न जे–जे प्रोटोकल अपनाउने हो । त्यो नेपालले नगर्ने भन्ने त हुँदैहुँदैन नि । विश्व स्वास्थ्य संगठनले महामारी हो भने पछि त्यसबाट बच्न विश्वका अरु मुलुकले जे–जे अपनाएका छन् त्यो त हामीले पनि अपनाउनुप¥यो नि ।
विदेशमा रहेका नेपालीहरु क्वारेनटाइनमा छन् तिनलाई कसरी सुरक्षित राख्ने ?
जुन देशमा छन् त्यही देशमा त्यहाँका नागरिकसरह हेरचाह गर्न त्यही देशमा व्यवस्था छ । कोरोनाविरुद्ध विश्वको जनमत एक भएर लडेको छ । नेपालले पनि विदेशी हुन् कि स्वदेशी त्यसैगरी हेरविचार र रेखदेख गर्नुपर्छ । हामीले पनि नेपालभित्र रहेका नेपाली र अन्य मुलुकका पनि छन् भने हाम्रो सरकारले भनेको रुपमा बस्नुपर्छ । अन्य मुलुकमा रहेका नेपालीले पनि त्यो देशले लगाएको नियम भनेको मानेर बस्नुपर्छ ।
अहिले विश्वमा नमस्कारको थालनी भएको छ नि अमेरिकाका राष्ट्रपतिले पनि नमस्कार गर्न थाल्नुभयो नि ?
त्यो ठीक हो ।
सबैले मिलेर कोरोनालाई नेपालमा आउन नदिने हो ?
यो कोरोनालाई त विश्वबाटै हटाउने हो नि । यसमा त विश्व नै लागेको छ । त्यसमा नेपाल पनि लाग्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्