Logo

पर्यटकीय सहरमा ‘कोरोना कहर’



काठमाडौँ, २ चैत । देशकै पर्यटकीय सहर भनेर चिनिने पोखराको लेकसाइड यतिबेला सुनसान बनेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रामा प्रतिबन्ध लगाइएपछि पर्यटकको सङ्ख्या न्युन भएको हो । अधिकांश विदेशी पर्यटकले भरिभराउ हुने पोखरा यतिबेला सुनसान छ ।

अङ्गे्रजी महिना मार्च, अप्रिल, मेमा पर्यटक आउने सिजन भए पनि यतिबेला भारतीय पर्यटकबाहेक अरू कमै मात्रामा देख्न सकिन्छध्र ट्रेकिङ ऐजेन्सी एसोसिएसन अफ नेपाल टानका अध्यक्ष हरि भुजेलले कोरोना भाइरसका कारण सिजनकै समयमा पर्यटक नआउँदा पर्यटन व्यवसायी ठूलो मारमा परेको बताएका छन् । सरकारले नोटिस जारी गरेर भिसा बन्द गरेकेले आउँदै गरेका पर्यटक पनि बुकिङ रद्द गरेको भुजेलले बताएका छन् । पर्यटन व्यवसायमा ठूलो धक्का खेप्नु परेको भन्दै भुजेलले सरकारले बैङ्कको ब्याज घटाउने र पर्यटन क्षेत्रमा भएको लगानीलाई बैङ्क तथा व्यवसायीलाई असर नपर्ने गरी केही समयपछि तिर्ने खालको व्यवस्था गर्नसमेत माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले बाहिरबाट आउनेलाई एयरर्पोटभित्र छिर्दा मात्रै पनि १४ दिन क्वारेन्टाइनमा बस्न लगाएपछि पर्यटनको अवस्था बिग्रिएको बताएका छन् । अर्बौं लगानी गरेका व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने भन्दै उहाँले पनि ब्याज र किस्तामा राहत दिन आग्रह गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको कारण पर्यटन उद्योगमा ठूलो असर पुगेको बताएका छन् । मुख्यमन्त्री गुरुङले कोरोनासँग भिड्न प्याकेजै ल्याउनुपर्ने अवस्था भएको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री विकास लम्सालले व्यवसायीसँग समन्वय गरी प्याकेज ल्याउने तयारी गरेको बताएका छन् । ‘राज्यलाई कर तिर्ने व्यवसायीले हो, उहाँहरू नै अहिले मारमा पर्नुभएको छ प्रदेशमा सरकारकातर्फबाट के कुराको सहयोग गर्न सकिन्छ हामी छलफलमा छौँ, सोही अनुसार सङ्घीय सरकारसँग अनुरोध गरी प्याकेजका रूपमा ल्याउन माग गर्ने छौँ’ मन्त्री लम्सालले बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्