Logo

प्रधानमन्त्री ओली आराम नगरी सिंहदरबार पुगेपछि चिकित्सक असन्तुष्ट



काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएको तीन दिनमात्र पुगेको थियो । उनलाई चिकित्सकले सावधानी अपनाउन र संक्रमणबाट जोगिन मानिसहरुबाट टाढा रहन सुझाव दिएका थिए । ओलीलाई भेट्नै परेमात्र मानिसहरुसँग भेट्न र त्यस अवस्थामा कम्तिमा तीन मिटर टाढा रहेर भेट्न सुझाव दिइएको छ । चिकित्सकहरुले बढी मानिसहरु हुनेगरी बैठक बस्दा शिशा राख्ने सम्मको सुझाव दिएका छन् ।

तर, प्रधानमन्त्री ओलीले चिकित्सकको सल्लाहलाई बेवास्ता गरेर आज सार्क देशका नेताहरुको भिडियो कन्फरेन्समा सहभागिता जनाए । कन्फरेन्समा सहभागी हुन सिंहदरबार पुगे । लामो समयसम्म भिडियो कन्फरेन्समा सहभागी भए र मानिसहरु नजिकै बसे ।

प्रधानमन्त्रीको यो कदमपछि उनको उपचार गरेका चिकित्सकहरु असन्तुष्ट भएका छन् । ओलीलाई कम्तिमा एक महिना बालुवाटारमा बसेर आराम गर्न भनिएको थियो । तर, उनले आज सिंहदरबारसम्मको यात्रा मात्र गरेनन् लामो समय भिडियो कन्फरेन्समा सहभागिता जनाए ।

प्रधामन्त्री ओलीको स्वास्थ्य जाँच गर्ने एकजना चिकित्सकका अनुसार मृगौला प्रत्यारोपण गरेको दुई हप्ता नबित्दै कठिन काम गर्नु जोखिमयुक्त हो । ती चिकित्सकले ओलीको आजको कदमप्रति असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीलाई पूरा आराम गर्न भनिएपनि उनले हिजोबाट नै सक्रियता देखाउन थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्