Logo

आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द



काठमाडौं, ३ चैत्र । नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्छ । अंग्रेजी क्यालेन्डर अनुसार महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा या घट्दा समायोजन हुनेगर्छ । अहिले सँसारभर कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । यस अवस्थामा निगमले पेट्रोल र डिजेलको मूल्य घटाउनुपर्ने हुन्छ ।

अपरान्हसम्म निगमले तेलको मूल्य समायोजन गरेको छैन । तर, तेल पम्पहरुले केही दिनमै तेल ट्याक रित्ताएर बसेका छन् । उनीहरुले निगमको डिपोबाट तेल माग गरेका छैनन् । महङ्गोमा किनेर सस्तोमा बेच्न पाइए तेल माग गर्ने डिपोहरुले यसपटक मौनता साँधेका छन् । उनीहरु तेल सस्तिए पछि मात्र खरिद गर्ने गरी प्रतिक्षामा छन् ।

नेपाल आयल निगमले प्रशस्त मात्रामा तेलको संचिती रहेको जनाएको छ । तर, काठमाडौं उपत्यकामा अधिकांश पेट्रोल पम्पहरु बन्द छन् । डिपोहरुले हिजो विहानै तेल नपाइने हल्ला चलाएर भएभरको तेल विक्री गरिसकेका छन् । अब उनीहरु बन्द गरेर बसेका छन् । यसले बजारमा कृत्तिम अभाव सृजना भएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार समयमै समायोजन नगर्दा यस्तो समस्या देखिएको हो । अहिलेको मूल्य अनुसार निगमले पेट्रोल, डिजेल र हवाई इन्धनमा भारी नाफा लिइरहेको छ । निगम स्रोतका अनुसार १५ दिनभित्र निगमले झण्डै ५० करोड मुनाफा गरिसकेको छ । यसअघिको १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारले ५० डलरको हाराहारीमा हुँदा २० करोड मुनाफा गरेको थियो । अहिले कच्चा तेलको मूल्य ३० देखि ३४ डलरको बीचमा छ ।-File photo



प्रतिक्रिया दिनुहोस्