Logo

मनकामना मन्दिरमा मगर पुजारी कसरी रहे



मनकामना गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । मनको इच्छा पुरा हुने वा मनले चाहेको पुरा गर्ने भगवती देवी भएकाले यो मन्दिरको नाम मनकामना रहेको पाइन्छ । वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौ दर्शनार्थीहरु आफ्नो भाकल पुरा गर्न यो मन्दिरमा आउने गर्छन् ।

राजा राम शाह (१६१४–१६३६)की रानी लिलावती वा पुण्यवतीदेवी अवतारी थिईन् । लखन थापा लिलावतीका अति नजिकका भक्त थिए । एक दिन राम शाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकै साथ देखेछन् । त्यसपछि राजा अचानक बिरामी भई स्वर्गीय भए र उनको अन्तेष्टि मस्य्राङदी नदीको दरौदी दोभान रामशाह घाटमा गरीयो । उक्त समयकोे चलन अनुसार लीलावती पनि राजासँगै सती गईन् । भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, “तिम्रो इच्छा पुरा गर्न तिम्रै गाउँको एकछेऊमा फेरी प्रकट हुनेछु,” भनेर भनिन् रे । उक्त घटना भएको सात महिना पछि हाल मनकामना रहेको ठाउँमा एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दुध र रगत बग्न थालेपछि लखनले तान्त्रिक विधिद्वारा पुजा गरेपछि रगत बग्न रोकिएको र सोही ठाउँमा देवीको मन्दिर स्थापना गरेको पाइन्छ ।

सो घटना पछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्त गरी नित्य पुजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । हालको पुजारी लखन थापाको सत्रौ पुस्ताको सन्तान हुन् ।

मनकामना मन्दिर परिसरमा रहेको ठुलो चाँपको रुखमा भगवतीको देवीको वास भएका कारण रख बुढो भएर, आज सम्म त्यसका हाँगाबिगा भाँचिएर मानविय तथा भौतिक नोक्सानी भएको छैन । उक्त रुखबाट आएको कडा वासना लमजुङसम्म पनि पुग्ने विश्वास रहेको छ ।



प्रतिक्रिया दिनुहोस्