Logo

कोरोना संक्रमितलाई उपचार गर्ने डाक्टर र नर्सलाई सुविधै सुविधा



चैत ३, काठमाण्डौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

त्यसैगरी चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वंयमसेवकहरूलाई १० लाखसम्मको उपचार खर्चको पनि  व्यवस्था गरिएको छ । बैठकले कोरोना संक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी किट (पीपीई) किन्ने निर्णय पनि गरेको छ ।

 उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको समितिको बैठकले कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्तालाई घातक रोगको उपचार गर्न प्रदान गर्दै आएको उपचार खर्च बापतको १० लाखको व्यवस्थालाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका कर्मचारी संक्रमित भएमा निजलाई उपचार गर्दा लाग्ने खर्च समेत सोहि अनुरुप हुने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने भएको छ।

यस्तै, समितिले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आईसीयूसहितका बेड र प्रदेशहरुका आवश्यक अनुसार एक सय १५ ओटा वटा आईसीयू कक्ष अविलम्ब बनाउने निर्णय गरेको छ। समितिले यसका लागि आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको निर्णय अनुसार टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल र पाटन अस्पताल गरी ६ वटा अस्पतालमा २०/२० वटाको दरले आईसीयू बेडको व्यवस्था गरिन लागिएको हो।

यसैगरी उपत्यकाको लागि विभिन्न एक हजार संख्या सम्मको बेड हुने गरी आइसोलेसन वार्ड तथा बेडको व्यवस्थापन मिलाउन पनि समितिले निर्देश गरेको छ। आइसोलेसन बेडका लागि आयुर्वेद अस्पताल कीर्तिपुरमा दुई सय, खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा दुई सय २०, तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ६०, टेकु अस्पतालमा एक सय, पाटन अस्पतालमा ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पतालहरुमा एक सय र इचंगुनारायणस्थित सैनिक ब्यारेकमा दुई सय ५० वटा आइसोलेसन बेड हुनेछन्। प्रदेश सरकारले काठमाडौं उपत्यकाभन्दा बाहिरका आइसोलेसन बेडको व्यवस्था मिलाउन लेखी पठाउने निर्णय भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्