Logo

‘बा’लाई बालुवाटारभित्रै हैरान



मिर्गौला प्रत्यारोपणपछि गत शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटार फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँका सल्लाहकार समूहले चौबिस घण्टा पनि आराम गर्न दिएनन् । डिस्चार्ज भएको भोलिपल्ट बेलुका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकवालमा प्रधानमन्त्रीसँग खिचिएको फोटो पोष्ट गरे । उक्त फोटोमा नेकपा महासचिव विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश सल्लाहकार राजन भट्टराई र थापा छन् ।

त्यस दिन प्रधानमन्त्री ओलीसँग सल्लाहकारहरुको के कुरा भयो भन्ने कुरा फेसबुकमा उल्लेख गरिएको छैन । त्यसैले उक्त भेटघाट प्रधानमन्त्री ओलीसँग फोटो खिचाउनकै लागि गरिएको थियो भन्ने बुझिन्छ । उक्त फोटोमा प्रधानमन्त्री ओली ‘माक्स’विहीन अनुहारमा देखिनुहुन्छ । तर, अन्य चार जनाले भने कोरोनाबाट जोगिन ‘माक्स’ लगाएका छन् ।

भर्खरै मिर्गौला प्रत्यारोपण गरेर आउनुभएका ओलीलाई संक्रमणबाट जोगाउन पनि ‘माक्स’को प्रयोग गर्नुपर्छ भन्ने सुझाव ती सल्लाहकारहरुले दिने आँट गरेनन् । त्यति मात्र होइन, कोरोनाले विश्व हल्लाइरहेको बेला आफूहरुले ‘माक्स’ लगाउने, प्रधानमन्त्रीलाई माक्सविहीन अवस्थामा सामाजिक सञ्जालमा प्रचार गरिनुलाई धेरैले अचम्म मानेका छन् । त्यसो त प्रधानमन्त्री बालुवाटार फर्किएपछि कार्यकर्ताहरुले आराम गर्न दिँदैनन् । उनी वरपरका चाकरहरुले ‘बा’ भनेर हैरान गर्छन् भनेरै चिकित्सकहरुले केही दिन आराम गर्न अस्पतालमै राख्ने सुझाव दिएका थिए । तर, प्रधानमन्त्री ओलीको जिद्धीका कारण डाक्टरहरु ‘डिस्चार्ज’ गर्न बाध्य भए ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि संक्रमणबाट जोगिन भेटघाट कम गर्नुपर्ने, बढी आराम गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । तर, चिकित्सकहरुको सुझावलाई न त प्रधानमन्त्रीले मानेका छन् । न त उनका सल्लाहकारहरुले ।

त्यति मात्र होइन, त्यसको भोलिपल्ट आइतबार अपराह्न तिनै सल्लाहकारहरुले उचालेर गाडीमा राखेर प्रधानमन्त्री ओलीलाई सिंहदरबार पु¥याए । गाडीबाट पाखुरा समाएर डोहो¥याउँदै कार्यकक्ष पु¥याए । कुर्सीमा बसाए । यसको प्रत्यक्ष प्रसारण टेलिभिजनहरुले देखाइरहेका थिए । प्रधानमन्त्रीलाई बीचमा, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दायाँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बायाँ राखे । आफूहरुको पनि अनुहार टेलिभिजनमा देखियोस भनेर प्रधानमन्त्री पछाडि लहरै देउसीभैलोको शैलीमा आफूहरु बसे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको उक्त भिडियो कन्फ्रेन्समा भर्खरै मिर्गौला प्रत्यारोपण गरेर बालुवाटार फर्किएका प्रधानमन्त्रीलाई त्यहाँ उपस्थित गराउनु स्वास्थ्यका हिसाबले ठिक कुरा थिएन । उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेल अथवा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि नेपालको तर्फबाट सम्बोधन गर्न सक्थे । किनभने, उक्त कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्रीको अनुहार देखिएन । पाकिस्तानका तर्फबाट त्यहाँका स्वास्थ्यमन्त्री जाफर मिर्जाले सम्बोधन गरेका थिए ।

तर, नेपालको दृश्य भने गजबकै थियो । अन्य राष्ट्रबाट एक, एक जनाले सम्बोधन गरेको ‘लाइभ काष्ट’ गरिएको थियो । तर, नेपालबाट भने प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अगाडि कुर्सीमा थिए । प्रधानमन्त्री भन्दा अग्लो कुर्चीमा पछाडि मुख्यसचिव लोकदर्शन रेग्मी, प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश सल्लाहकार राजन भट्टराई, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र छेउमा परराष्ट्रसचिव शंकर वैरागी थिए । नेपालका तर्फबाट यति धेरैको अनुहार देखेर सार्क राष्ट्रका प्रमुखहरु पनि अचम्मै माने होलान् । किनभने, त्यो कार्यक्रम नेपालका प्रधानमन्त्रीले आयोजना गरेका थिएनन् । आयोजक राष्ट्र भारत थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक उनी वरपरका कुनै सल्लाहकारको अनुहार देखिएन । मोदीले आफ्नो दायाँ, बायाँ, माथि, तल कसैलाई पनि राखेनन् । नेपालको तर्फबाट भने बौद्धिक दरिद्रता प्रदर्शन गर्ने काम भयो । प्रधानमन्त्रीलाई बीचमा राखेर ‘गाईजात्रा’ प्रदर्शन गर्ने काममा पनि ‘बा’ भनेर सम्बोधन गर्नेहरुले नै गरे । यो हर्कत देखेर नेपालका बुद्धिजीवीहरु पनि छक्कै परे ।

सार्क भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले ‘हामीकहाँ कोभिड–१९ भएका आशंका गरिएकालाई परीक्षण गर्दा एक जनामा पोजेटिभ देखिए पनि अन्य सबैमा नेगेटिभ देखिएको छ । यद्यपि, जुनसुकै बेला अचानक हुनसक्ने प्रकोपका लागि जोखिमप्रति हामी सचेत छौँ । हामी यसको रोकथामका लागि थुप्रै उपायसहित उच्च सतर्कता अपनाइरहेका छौँ । यो रोग हाम्रो देशभित्र प्रवेश गर्न नदिन थप काम पनि अघि बढाइएको छ । वैदेशिक यात्रुले नेपाल प्रवेश गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्यरुपमा ‘स्क्रिनिङ’ प्रक्रिया पार गर्नुपर्ने व्यवस्था गरिएको छ । कतिपय समूहका यात्रुका लागि आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था छ । हामी सबै प्रदेशमा क्वारेन्टाइनको सुविधा विस्तार गर्दैछौँ भने संक्रमित देखिएमा उपचार गर्न अस्पतालको क्षमतावृद्धि गर्नुका साथै आइसोलेसन वार्डको प्रबन्ध गरिएको छ’ भनेर भिडियो कन्फ्रेन्समा सम्बोधन गर्नु भए पनि हङकङ, चीन, बैंकक, मलेसिया, दुबईलगायतका अन्तर्राष्ट्रिय उडान नियमित नै छ । स्कूल, कलेज, सिनेमा हलहरु सञ्चालन भइनैरहेको छ । विवाह, व्रतबन्ध आदि जस्ता सामाजिक कार्य रोकिएको छैन । उद्योग, कलकारखाना चलेकै छन् । डिपार्टमेन्ट स्टोर र सार्वजनिक यातायातका साधन प्रयोग गर्ने यात्रीहरुमाथि सरकारले कुनै सचेतना अभियान सञ्चालन गरेको छैन । काठमाडौँको राजधानीमा त यस्तो हेलचक्र्याई छ भने अन्य ठाउँको हालत के होला ? धन्न अहिलेसम्म कोरोनाले ज्यान लिएको खबर बाहिर आएको छैन ।

सार्क भिडियो कन्फ्रेन्समा सरकार प्रमुखले सम्बोधन गर्दा जतिसुकै सतर्कता अपनाएको भनिए पनि माथिका यी गतिविधि नरोकिएसम्म कोरोनाको खतराबाट सर्वसाधारण सुरक्षित छन् भन्न सकिने अवस्था छैन । विभिन्न अस्पतालहरुको तयारी अवस्था पनि सन्तोषजनक छैन । बरु प्रधानमन्त्रीले यस्ता गतिविधि रोक्नेतिर बेलैमा ध्यान पु¥याउन र आफैँ पनि जोगिन जरुरी छ ।-दृष्टि साप्ताहिक



प्रतिक्रिया दिनुहोस्