Logo

कोरोना भाइरसः चीनलाई बाँकी विश्वले उछिन्यो



एजेन्सी, ४ चैत्र । चीनको तुलनामा बाँकी विश्वमा कोरोना भाइरसको संक्रमणले मर्नेको संख्या बढी भएको तथ्यांक आएको छ । चीनलाई बाँकी विश्वले कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्यामा उछिनेको हो ।

सोमबारसम्मको तथ्यांकले बाँकी विश्वले चीनलाई उछिनेको हो । यसअघि आइतबार नै संक्रमितको संख्यामा चीनलाई बाँकी विश्वले उछिनिइसकेका थिए ।

सँसारभर मर्नेको संख्या सात हजार कटेको छ । चीनमा ३२ सय २६ को मृत्यु भइसकेको छ । ८० हजार संक्रमित भेटिएका छन् । चीनपछि सबैभन्दा बढी इटालीमा मर्नेका संख्या बढी देखिएको छ । इटालीमा २१५८ को मृत्यु भइसकेको छ । त्यहाँ २८ हजार संक्रमित रहेको तथ्यांक छ ।

इरानमा १५ हजार संक्रमितको तथ्यांक छ भने मर्नेको संख्या ८५३ पुगेको छ । स्पेनमा दश हजार संक्रमित भएका छन् । त्यहाँ ३४२ को मृत्यु भएको छ । दक्षिण कोरियामा ८३२० संक्रमित भेटिएका छन् । त्यहाँ ८४ जनाको मृत्यु भएको छ । जर्मनीमा ७५८८ संक्रमित भएकामा १७ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा ६६३३ संक्रमित भएकामा १४८ को मृत्यु भइसकेको छ । अमेरिकामा संक्रमितको संख्या पाँच हजार नजिक पुगिसकेको छ भने ९३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई तीनमा तेब्बर पुगेको छ । पाकिस्तानमा १८४ कोरोना भाइरस संक्रमित भेटिएका छन् । यसअघि आइतबार पाकिस्तानमा ५३ जना संक्रमित भेटिएका थिए ।

यसैगरी सांघाई जाने १२ देशका यात्रीले १४ दिन आफै क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । ती देशहरुमा दक्षिण कोरिया, इटाली, इरान, जापान, फ्रान्स, स्पेन, जर्मनी, अमेरिका, बेलायत, स्वीटजरल्यान्ड, स्वीडेन र बेल्जियम छन् ।



प्रतिक्रिया दिनुहोस्