Logo

प्रदेश प्रमुखको श्रीमतीलाई भ्रमण भत्ता चाहियो, राजनीतिक भेटघाट किन ?



चैत ४, काठमाण्डौ । सातै प्रदेशका प्रदेश प्रमुख तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा छन् । प्रदेशमा आफूहरुले भोग्नुपरेका समस्याबारे संघीय सरकारलाई ध्यानाकर्षण गराउन उनीहरु काठमाडौं आएका हुन् । तर प्रदेश प्रमुखहरुले राजनीतिक भेटघाटलाई तीब्र बनाएका छन् । संवैधानिक भूमिका, अधिकार र नैतिक आचरण भुलेर प्रदेश प्रमुखहरु आफ्नो सेवा सुविधा बढाउन सक्रिय भएपछि आलोचना भएको छ ।

सातवटै प्रदेशका प्रदेशप्रमुख र मुख्यमन्त्रीहरू आइतबार केन्द्रीय राजधान काठमाण्डौमा देखिए । मुख्यमन्त्रीहरू कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका सम्बन्धमा छलफल गर्न आएका थिए । तर प्रदेश प्रमुखहरुको लक्ष्य अर्कै छ । उनीहरु आफ्नो सेवा सुविधान बढाउन माग गर्दै राजनीतिक दलका नेताहरुलाई भेट्नमा व्यस्त देखिए । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर प्रदेश प्रमुखहरुले आफूहरूको वरीयता र सुविधा वृद्धिका लागि ‘लबिङ’ गरे ।

कोरोना भाइरस संक्रमणको डरले देश नै त्रासमा भएका बेला प्रदेश प्रमुख जस्तो जिम्मेवार पदमा रहेका प्रदेश प्रमुखहरुको स्वार्थ देखेर धेरैले आलोचना गरेका छन् । प्रदेशका प्रमुखहरुले राजनितिक दलका नेताहरुसँगको भटेघाटलाई कानुनविद्हरुले पनि नकारात्मक पक्ष भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले नियुक्ति गरेका प्रदेश प्रमुखले सेवा सुविधा वृद्धिका लागि दलका नेताहरुलाई भेट्नु गलत भएको कानुनविद् शेरबहादुर केसी बताउँछन् ।

सात प्रदेशका प्रमुखहरु केहीदेखि संघिय राजधानी काठमाडौमा विभिन्न दल शिर्ष नेताहरुसँगको भेटघाट संवैधानिक अधिकार अनुसार ऐन–कानून विपरीत रहेको भन्दै आलोचना भैरहेको छ । घरघर दैलो दैलो यसरी आफ्नो गुनासोका लागि हिड्नु संवैधानिक हिसाले गलत भएको कानुनविद् टिकाराम भट्टराई बताउछन् ।

अस्पतालमा भर्ना भएर गरिएको उपचार होस् वा नभईकनै गरिएको उपचारबापत लागेको खर्च मात्रै होइन अस्पताल भर्ना हुँदा स्याहारसम्भारमा खटिने कुरुवाका लागि कुरुवा खर्चसमेत दिनुपर्ने माग उनीहरूको छ । स्वदेश तथा विदेश भ्रमणमा जाँदा आफ्ना पति वा पत्नीलाई यातायात सुविधाको व्यवस्थाका लागि समेत ‘सुझाब’ दिएका छन् ।

आफ्नो कार्यालयबाहिर भ्रमण जाँदा सरकारले प्रदेशप्रमुखका लागि दैनिक भत्ताको व्यवस्थासमेत गरेको हुन्छ । यति हुँदाहुँदै पनि उनीहरूले पत्नीका लागि छुट्टै यातायात सुविधाको व्यवस्था गर्न ‘सुझाब’ दिनुले आलोचना बढिरहेको छ । प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न आएका थिए । आइतबार नेकपा अध्यक्ष दाहालको निवास खुमलटार पुगेर उनलाई भेटिसकेका छन् । तर, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँगको भेट्ने समय नमिलेपछि फर्किए ।



प्रतिक्रिया दिनुहोस्