Logo

एसईई सर्दैन, नयाँ भर्नाका लागि हतार नगरौँ : शिक्षामन्त्री



चैत ४, काठमाण्डौ । कक्षा १० को अन्तिम परीक्षा (एसईई) सञ्चालनका लागि पर्याप्त सावधानीको प्रवन्ध गरिएकोले त्रसित र भयभित नभै सहभागि हुन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी तथा अभिभावकमा सार्वजनिक अपिल गरेका छन् ।

चीनबाट शुरु भएर विश्वव्यापी रुपमा महामारीको शैलीमा फैलिएको कोरोना (कोभिड(१९) संक्रमणको त्रासले परीक्षा हुने नहुने भन्ने अन्यौल जारी रहँदा मन्त्री पोखरेलले एक अपिल सार्वजनिक गर्दै पर्याप्त सावधानीको प्रवन्ध गरिएको दावी गरेका छन् ।

सक्रमणको रोकथाम गर्नु पर्ने र परीक्षालाई मनोबैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नु पर्ने भन्दै मन्त्री पोखरेलले विद्यार्थीलाई व्यक्तिगत सफाईमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरुसँग हात नमिलाउन, सकभर भिडभाडमा नजान यस अघि नै मन्त्रालयले गरेको अनुरोध पनि स्मरण गराएका छन् ।

’पूर्व निर्धारित समय तालिका अनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रवन्ध गरिएको छ’ अपिलमा उनले भनेका छन्,’विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने प्रवन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’

बिहीबार देखि शुरु हुने २०७६ सालको कक्षा १० को अन्तिम परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागि हुँदै छन् । परीक्षा सञ्चालनको सबै तयारी पुरा भईसकेको पनि मन्त्रीको अपिलमा उल्लेख छ । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने एसईई परीक्षा सुरु हुने दिनको अघिल्लो दिन अर्थात चैत ५ गते सकिनेछ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको क्रास बढेसँगै स्कुल बन्द गर्नुपर्ने अवाज पनि उठेको थियो । तर मन्त्रालयले स्कुल बन्द गर्नुको साटो परीक्षा अगाडि सार्न आग्रह ग‍रेको थियो । त्यसअनुसार सबै स्कुलले परीक्षा लिइरहेका छन् र भोलिसम्म सबै परीक्षा सकिनेछ ।

परीक्षा सकिएपछि करीब ७० लाख बालबालिका घर परिवारमा हुने भन्दै शिक्षा मन्त्रालयले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्