Logo

प्रदेश दुईको नामाकरणमा राजपा र समाजवादीलाई धक्का, मधेश प्रदेश अस्वीकृत



चैत ४, काठमाण्डौ । प्रदेश नम्बर दुईको नामाकरणमा सत्तारुढ दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाललाई धक्का लागेको छ । दुई दलले संयुक्त रुपमा प्रस्ताव गरेको नाम बहुमतले अस्वीकृत भएको हो । दुई तिहाइ पुर्‍याउन नसकेपछि ’मधेस प्रदेश’ को प्रस्ताव अस्वीकृत भएको हो । उक्त प्रस्तावको पक्षमा ६० मत खसेको थियो ।

मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत कांग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो ।

यसअघि नेकपा, कांग्रेस र बारा–पर्साका सांसदले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाले प्रदेशको नाम ’जानकी’, कांग्रेसले ’मिथिला(भोजपुरा’ र बारा–पर्साका सांसदले ’मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए । सबै प्रस्तावहरु अस्वीकृत भएसँगै अब प्रदेश नामांकनका लागि नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ ।

प्रदेश २ को नामकरण लागि जारी मतदानमा ’क्रस भोटिङ’ भएपछि प्रतिपक्ष नेकपा र कांग्रेसले आफ्‍ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेका थिए । दुवै दलले सत्तारुढ दलको तर्फबाट हुने प्रस्तावको विपक्षमा मत हाल्न आफ्‍ना सांसदलाई ह्विप जारी गरे पनि ४ जना सांसदले पक्षमा मत खसालेका थिए ।



प्रतिक्रिया दिनुहोस्