Logo

कोरोना भाइरसको विषयमा अमेरिका र चीनबीच आरोप प्रत्यारोप



एजेन्सी, ५ चैत्र । कोरोना भाइरसको महामारी विश्वव्यापी बनिसकेको छ । तर, दुई शक्तिशाली देशहरु अमेरिका र चीन यस विषयमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

पहिलोपटक चीनमा देखापरेको कोरोना भाइरसको संक्रमणपछि अमेरिकी वाणिज्य मन्त्री लिल्बर रोसले अब अमेरिकामा रोजगारीको अवसर बढ्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिए । उनले भने, मेरो विचारमा यसले उत्तर अमेरिकामा रोजगारीको अवसर फर्काउन सहयोग पुग्नेछ । अमेरिकामा भाइरसले नकारात्मक असर नपुर्याउने तर्क गरे । त्यसपछि चीनले ती मन्त्रीको नैतिकतामाथि प्रश्न उठायो । चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले सम्पादकीय नै लेखेर संकटका बेलामा अमेरिकी अधिकारीको भनाई नैतिक मूल्य मान्यता विपरित रहेको उल्लेख गर्यो ।

चिनियाँ विदेश मन्त्रालयका अधिकारी झाओ लिजियानले अमेरिकी सैनिकबाट कोरोना भाइरसको संक्रमण वुआनमा पुगेको दाबी गरे । उनले अमेरिकामाथि चीनमा कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाए । यसले नयाँ तरंग ल्यायो । कोरोना भाइरसलाई शक्तिराष्ट्रले एकले अर्कालाई कमजोर पार्ने अस्त्रका रुपमा प्रयोग गर्न खोजेको विषय नउठेको होइन ।

एक अर्काबीच आरोप प्रत्यारोप चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसर्ला चिनियाँ भाइरस भने । उनले ट्वीटमार्फत् चाइनिज भाइरस भने । यसअघि उनले विदेशी भाइरस भन्दै आएका थिए । यसपटक चाइनिज भाइरस भने । उनको ठाडो आरोप चीनमाथि थियो ।

सोमबारबाट चीनलाई बाँकी विश्वले कोरोना भाइरस संक्रमणमा उछिन्यो । युरोप र उत्तर अमेरिकामा संक्रमण निकै फैलियो । त्यसपछि अमेरिकी अधिकारीहरुबाट चीनमाथि आरोप लगाउने क्रम बढ्यो । कुनैबेला चीनमा संकट बढेर लाभ लिन सकिन्छ भन्ने अमेरिकी अधिकारीको भनाई अहिले प्रत्युत्पादक बनेको छ । चीनले भाइरस संक्रमणको वृद्धिदर घटाउने सफलता हासिल गरिरहँदा युरोप र अमेरिकामा बढिरहेको छ ।

अहिले अमेरिकी अर्थतन्त्रमा ठूलो नोक्शानी परिरहेको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणले तेलयुद्धले मूल्यमा गिरावट आएको छ । अमेरिकाको तेल उत्पादनबाट जीडीपीमा ठूलो योगदान पुग्ने गर्छ । मूल्य घट्दा उसलाई नोक्शान परेको छ । अमेरिकामा अहिले धेरै रोजगारी संकटमा परेको छ । लाखौं रोजगारी संकटमा पर्दा त्यहाँको समाजमा दुरगामी असर पर्न सक्छ ।

भाइरसको संक्रमणले न त चीनलाई छाड्यो न त अमेरिकालाई नै छाड्यो । अहिले युरोप थलिएको छ । तर, अमेरिका र चीन एक अर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन् । कोरोना संक्रमणसँग विश्व मिलेर जुध्नुपर्ने बेलामा अमेरिका र चीन जस्ता देशहरु एक अर्काविरुद्ध यसैलाई विषय बनाएर आरोपमा उत्रिएका छन् ।



प्रतिक्रिया दिनुहोस्