चरेश सहित पक्राउ


काठमाडौं, ५ चैत । अवैध लागूऔषध चरेश सहित एकजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १ सय ५० ग्राम सहित भारत बिहारका अनवर अली अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले अन्सारी बसेको उक्त गेष्ट हाउसको कोठा नम्बर ११५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै पर्सा, पटेर्वा सुगौली गाउँपालिका बैधनाथपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, चरेश १ किलो र हाल पहिचान हुन नसकेको धुलो १ किलो ५ सय ग्राम सहित सोही गाउँपालिका देउरवाना बस्ने नुर आलम मियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई साईकलमा दाउरा ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार अर्का व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । बाँके, नेपालगंज जमुनाहबाट अवैध लागूऔषध चरेश १ किलो २ सय ५० ग्राम सहित कालिकोट खाडाचक्र बस्ने सुबिरा शाहीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।