Logo

सार्वजनिक सवारी साधनमा कोरोनाको त्रास



चैत ५, काठमाण्डौ । कोरोना भाइरसको त्रास सबै ठाउँमा छ । विशेषगरी धेरै मानिसको भेला हुने ठाउँमा संक्रमणको खतरा हुन्छ । लाखाँै मानिसको ओहोरदोहोर हुने काठमाण्डौ उपत्यकाका सार्वजनिक सवारी साधनमा यात्रा गर्नु जोखिमपूर्ण मानिन्छ । तर यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

काठमाण्डौमा दैनिक लाखौँ सर्वसाधारण विभिन्न कामले बाहिर निस्किने गर्दछन् । यतिबेला कोरोना संक्रमणको डरले दुईजनाबीच हात मिलाउन पनि छोडिएको छ । तर काठमाण्डौ उपत्यकाका सार्वजनिक स्थानमा हुने भिडभाड भने कम भएको छैन । विशेषगरी सार्वजनिक सवारी साधनको यात्रा जोखिमपूर्ण देखिएको छ । सार्वजनिक सवारी साधनको यात्राका क्रममा हुने यो भिडभाड देख्दा कोरोना संक्रमणप्रति कोही पनि सचेत छन् भन्ने लाग्दैन ।

सरकारले विभिन्न सभासम्मेलन र भीडभाडमा नजान आम मानिसलाई आग्रह गरेको छ । सार्वजनिक स्थानमा जानु परेमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न सुझाव पनि दिइएको छ । भिडभाड हुने औपचारिक कार्यक्रमहरु त कम भएका छन् । तर सार्वजनिक सवारी साधनमा हुने यस्तो भडिभाड नियन्त्रण गर्न भने सरकाले पनि कुनै कदम चालेको छैन ।

बजारमा मास्क र सेनिटाइजर जस्ता आधारभूत सामग्रीको समेत अभाव र कालोबजारी भइरहेका बेला सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सुरक्षित हुने कुनै उपाय अहिलेसम्म निस्किएको छैन । संक्रमणको खतरा जान्दा जान्दै पनि बाध्य भएर यात्रा गर्नुपर्ने यात्रुको गुनासो छ ।

सरकारले एकपछि अर्को गर्दै सावधानी अपनाउने अपिल गरिरहेको छ । तर सार्वजनिक यातायातमा कसरी कसरी सुरक्षित हुने भन्नेमा सरकार र यातायात व्यवसायीले ध्यान नदिएको यात्रुको आरोप छ ।

यसैबीच बुधबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सार्वजनिक सवारी सधानमा सिट क्षमताभन्दा धेरै यात्रु नराख्न निर्देशन दिएको छ । त्यसैगरी यात्रुलाई सुरक्षित गराउनका लागि आवश्यक सबै उपायको व्यवस्था गर्न पनि यातायात व्यवसायीलाई समितिले आग्रह गरेको छ । तर वर्षौदेखिको सार्वजनिक यातायातका साधनमा हुने भिड अहिले सरकारले निर्देशन दिदैमा कम हुने सम्भावना ज्यादै कम छ ।



प्रतिक्रिया दिनुहोस्