Logo

अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन(भिडियोसहित)



चैत ७, काठमाण्डौ । नोवल कोरोना (कोभिड–१९) भाइरसको उच्च जोखिम रहेको ठहर गर्दै सरकारले एकपछि अर्को निर्णय र निर्देशन दिइरहेको छ । अघोषित रुपमा देशलाई लक डाउन गरिएको भन्दा फरक नपर्ला ।

कोरोनाको शंका लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउनु पर्ने भएको छ । आशंकित बिरामीको उपचारपछि घर फर्किँदा बालबालिका, ज्येष्ठ नागरिकमा जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

सरकारले काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्मका लागि तत्काल नगरी नहुने बाहेकका स्वास्थ्य परीक्षण र शल्यक्रिया बन्द गर्न निर्देशन दिएको हो ।

भाईरसको जोखिम न्यूनिकरणको लागि काठमाडौं न्यूरोडस्थित संकटा मन्दिरमा भक्तजनहरुलाई प्रवेशमा रोक लगाएको छ । शुक्रबारलेखि काठमाडौंको संकटा मन्दिर, तेवहाल भद्रकाली मन्दिर, बटुभद्रकाली मन्दिरहरुमा नियमित नित्य पूजा बहेक भक्तजनहरुलाई प्रवेश निषेध गरिएको काठमाडौं महानगरले जनाएको छ । काठमाडौं महानगरको २२ नंवर वडाले संकटा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिलाई पत्रचार गर्दै सुचना जारी गरेको हो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही नरोकिने सर्वोच्चले जनाएको छ ।

राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भनेपनि संसद सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जनाएको हो ।

सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।

आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको छ । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ ।

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । सूचना टाँस गरे अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जानकारी गराएको हो ।

कोरोना संक्रमणको सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड छ ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ । अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ ।

मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ । विश्वभरी कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्