Logo

सीमा नाका बन्द नहुने



काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा कडाई गरी आवागमनमा स्वास्थ्य सुरक्षासहितको व्यवस्था गर्ने बताएका छन् । उनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै सीमा नाकाबाट आवागमन गर्नेहरुको स्वास्थ्य सुरक्षाका लागि मित्रराष्ट्रसँग समन्वय गरिने बताए ।

‘सीमा नाकाबाट आवागमन गर्ने स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य सुरक्षासहित आवागमनको व्यवस्था गरिनेछ र यसका लागि छिमेकी मित्रराष्ट्रसँग समन्वय गरिनेछ,’ प्रधानमन्त्रीले भने । तर, हवाई सेवा ९ चैत्र देखि २१ चैत्र सम्मका लागि बन्द गरिने बताए । अब नेपालमा कुनैपनि देशबाट हवाई सेवा सञ्चालनमा आउनेछैन । शुक्रबार मध्यरातिबाट नै लागू हुने गरी ५४ देशबाट हवाई सेवा बन्द गरिने घोषणा भइसकेको छ ।

प्रधानमन्त्री ओलीले लामो दुरीको यातायात बन्द गर्ने घोषणा गरे । १० चैत्रबाट लामो दुरीको बस सेवा बन्द गरिने घोषणा गरे । तर, छोटो दुरीको यातायात सेवाबारे उनले केही उल्लेख गरेनन् । भरसक घरबाहिर ननिस्कन आग्रह गरे ।

उनले संक्रमितको उपचार व्यवस्था मिलाउन विशेष तयारी गर्दै आएको बताए । सबै मिलेर कोरोना भाइरसविरुद्धको संक्रमणविरुद्ध जुध्नुपर्ने भन्दै प्रधानमन्त्रीले भने, सम्भावित संक्रमणलाई परास्त गर्न कुनै विकल्प छैन ।

प्रधानमन्त्रीले संकटको फाइदा उठाउन खोज्ने कालाबजारीलाई कडा चेतावनी दिए । उनले भने, ‘आपराधिक कार्यमा कोही संलग्न रहेको पाइएमा कडा कारबाही गरिनेछ ।’

सर्वसाधारणलाई साबुन पानीले पटक पटक हात धुने, सकेसम्म घरमै बस्नुहोस्, हल्लाह र अफवाहबाट टाढै हुनु आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्