Logo

मायालु फकाउने ‘टेपरेकर्डर’



भक्तबहादुर शाही

कुनै समय मायालु फकाउने माध्यम थियो, टेपरेर्केडर । तर, प्रविधि विकाससँगै आजभोलि त्यो देखिन छोडेको छ । उतिबेला हुनेखाने किसान यसको प्रयोग गर्थे । कतिपय त टेपरेर्केडरकै कारण विवाह बन्धनमा बाँधिए । पछिल्लो समय भने सञ्चार प्रविधिका कारण टेपरेर्केडर ओझेल परेको छ ।

त्यो त, पैसा कमाउन कालापहाड, मुम्बई, सिम्ला अल्मोडा, मनाली, नैनीताल गएकाले घर फर्किंदा टेप रेर्केडरै लिएर आउँथे । कुनै समय यस्तो जमाना थियो, अडियो रेर्केडरको । गाँउघरमा दुःख बिसाउनेसम्मको माध्यम बनेको अडियो रेकर्डरको चहलपहल गाउँघरमा प्रयोग हुन छाडेको छ ।

स्थानीय मेला, रतेउली र देउडा खेलमा अडियो रेकर्डर ९टेपरेर्केडर० गर्नका त घुँइचो हुन्थ्यो । कतिपय मेलामा टेप रेर्केड गर्न विवादै चल्थ्यो । मेलामा जान नसकेकाका लागि छोराछोरी ‘नासो’का रूपमा गीत रेकर्ड गरेर फर्कन्थे । अब त्यो जमाना रहेन । तस्बिर खिच्ने, अडियो गर्न मिल्ने, समाचार सुन्न मिल्ने, बोक्न पनि सजिलो र भिडियो रेकर्डसमेत भएको डिजिटल मोबाइलको बिगबिगी बढेको छ ।

पैसा कमाउन भारत पुगेका नेपाली टेपको साटो मोबाइल भिरेर फर्किएका भेटिन्छन् । कतिपय विद्यार्थी मोबाइलका लागि पढाइ छोडेर भारत जाने गरेको श्रीकृष्ण माविका शिक्षक वीरबहादुर माझी बताउँछन् । ‘मोबाइलका लागि भारत जान्छन्, मजदुरी काम गरी मोबाइल किनेर फर्कन्छन्,’ भन्छन्, ‘पढ्न थाल्छन् । मोबाइलले पछिल्लोपटक विकृति पनि बढाएको छ ।’

एकपटक मायालुसमेत फकाउने माध्यम बनेको टेपरेकर्डर अवस्था खस्किएको देखेर चिन्तित बनेका छन्, ठाटीकाँध गाउँपालिकाका–१ सिराडीका शेरबहादुर शाही । विवाका लागि केटी खोज्न सजिलो माध्यम टेपरेकर्डरले आफ्नो विवाह गर्नमा सहयोग पु¥याएको उनी सम्झन्छन् । ‘टेपकै कारण मेरो दाइ र मेरो विवाह भयो, हातमा टेपरेकर्डर भयो भने तरुनीको ओइरो लाग्थ्यो अनि विवाहका कुरा चलाउन सजिलो हुन्थ्यो,’ उनी सम्झिन्छन् ।

त्यतिबेला हुनेखाने मात्र ग्रामीण भेगमा टेपरेकर्डर बोक्ने गरेका सोही गाउँपालिका रमेशबहादुर शाही सुनाउँछन् । ‘डोटीबाट पहिलोपटक टेप ल्याउँदा गाउँभरका मान्छे सुन्नका लागि रातभर जाग्राम बस्थे,’ उनी भन्छन्, ‘कतिपयले सुन्नकै लागि टेपमा ब्याट्रीको पैसा दिन्थे । आजभोलि टेप पनि छैन, त्योभन्दा विकसित जमाना भइसक्यो अहिले ।’

कृषकका लागि मनोरञ्जन र दुःख बिसाउने साधन बनेको टेपरेकर्डर लोप हुँदा मोबाइल प्रयोगकर्ता बढ्दै गएका छन् । हुनेखाने होस् वा जोसुकै मोबाइल अनिवार्यजस्तै भएको छ । पैसा कमाउन भारत जाने अधिकांश बुढापाका वा युवा सबैले नासो रूपमा छोराछोरीलाई मोबाइल पठाउने गरेको चामुण्डाविन्द्रासैनी नगरपालिका–३ की नरबहादुर विक बताउँछन् ।तस्विरः युनाइटेड वि ब्लगबाट



प्रतिक्रिया दिनुहोस्