Logo

मनकामना मन्दिरमा पूजा गर्न रोक



गोरखा, चैत ८ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले बताए ।

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको उनको भनाई छ । मनकामना मन्दिरमा दैनिक करिब तीन हजार ५०० भन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् । धार्मिक हिसाबले गोरखा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तव्यका रुपमा मनकामना मन्दिरलाई लिने गरिन्छ ।

यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो । बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने मन्दिरका मूल पुजारी थापामगरको भनाई छ । चैतेदशैँको पर्व पूजाबाहेक अन्य पूजा रोकिने मन्दिरका मुख्य पुजारी थापाको भनाइ छ । उनका अनुसार अब बिहान सधँैजस्तो हरेक दिन नित्य पूजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ । यो वर्षको चैतेदशैँ भने आउँदो १९ गते परेको छ । मन्दिरमा चैतेदशैँको बेला गुठियार भेला भएर राँगो, बोका बलि दिइने मूल पुजारी थापामगरले जानकारी दिए । मनकामना दर्शन केवलकार भने विहिबारदेखि नै बन्द भइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्