Logo

सामाजिक बहिष्कार गराउनेलाई मुद्दा



मेलम्ची, ८ चैत : मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दलितसँग विवाह गरेको भन्दै बुबाको काजकिरिया गर्न नदिई सामाजिक बहिष्कार गर्न लगाउनेविरुद्ध जाहेरी दिइएको छ । स्थानीय प्रेम भुजेललाई सामाजिक बहिस्कार गर्न लगाउने रमेश शर्मा कुइँकेलविरुद्ध इलाका प्रहरी कार्यालय मेलम्चीमा जाहेरी दर्ता भएको हो ।

प्रेमका बाबु दीर्गबहादुरको गत २१ फागुनमा मृत्यु भएको थियो । बुबाको मृत्युको खबर पाउनासाथ काठमाडौँबाट मेलम्चीस्थित दाहसंस्कारस्थल पुगेका भुजेललाई आफ्नै दाजु बेलबहादुर भुजेलले तिमी किरिया बसे रमेश पण्डित नआउने भन्दै बुबाको मुख हेर्नसमेत नदिएको र आफू काठमाडौँ फर्किएको पीडितले बताए ।

“घरमा आफू नभएको थाहा पाएपछि आरोपी पण्डित घरमा आएर पण्डित्याइँ गर्ने गरेका रहेछन्”, पीडित भुजेलले भने, “मैले दलित समुदायको केटीसँग विवाह गरेकै कारण मेरो बुबाको मृत्यु हुँदा आफ्नो धर्म संस्कारअनुसार दाहसंस्कार र काजकिरिया गर्न रोक लगाउनु मानवताविरोधी क्रियाकलाप भएकाले न्यायको निमित्त जाहेरी दिएको हुँ ।”

जातीय विभेदको उजुरी दर्ता गर्नमा धेरै नै कठिनाइ भएको र जाहेरी दर्ता भएसँगै न्यायका लागि ढोका खुले तापनि घटनालाई राजनीतिककरण गरी मुद्दालाई कमजोर बनाउन चलखेल हुनसक्ने भन्दै सबै अभिानकर्मी चनाखो रहन अपिल गर्दै न्याय नपाएसम्म निरन्तर पीडित परिवारलाई साथ दिने दलित एकता सञ्जाल नेपाल सिन्धुपाल्चोक अध्यक्ष एवं दलित सञ्जाल केन्द्रीय सचिव सुनिल मिजारले बताए ।



प्रतिक्रिया दिनुहोस्