Logo

कोभिड–१९ : भ्रामक अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान



काठमाडौं, ८ चैत : नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले अडियोका विषयमा ब्यूरोबाट अनुसन्धान थालिसकिएको जानकारी दिए । प्रहरीले अडियो रेकर्ड गरेर सार्वजनिक गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा अहिले आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको छ ।

उक्त अडियोमा नेपालमा कोरोना लागेको भनेर भ्रामक प्रचार गरिएको छ । प्रहरीले गलत हल्लाका पछि नलागी नेपाल सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्नसमेत भनेको छ । नेपाल सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ ।

यसैबीच नर्भिक इन्टरनेशनल अस्पताल काठमाडौँले अस्पतालमा कोभिड–१९ का बिरामी भेटिएको भनेर कपोलकल्पित सूचना प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गरी हालसम्म कोरोना भाइरसका कुनै पनि बिरामी फेला नपरेको स्पष्ट पारेको छ । त्यस्ता सूचना सार्वजनिक गर्नु सामाजिक अपराध भएकाले विज्ञप्तिमा कानूनी कारवाहीको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्