Logo

कोरोनाविरुद्ध सेनाको यस्तो छ तयारी



काठमाडौँ, ८ चैत : नेपाली सेना पनि संयुक्त र आफ्नै प्रयासमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च तयारीका साथ काम गरिरहेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार केन्द्रमा केही दिनअघि मात्रै सीमित स्रोत साधनका बीच कसरी काम गर्न सकिन्छ भनेर पूर्वाभ्यास नै गरिएको थियो । काठमाडौँमा ५४ टेन्ट बनाएर सफल अभ्यास गरिएको थियो । नेपालगञ्ज, इटहरी र पोखरामा रहेको क्षेत्रीय अस्पतालले समेत आफ्नो आवश्यक तयारी गरेर सेना बसेको छ ।

सातै प्रदेशका पृतनामा रहेका साना अस्पतालले प्रदेश सरकारसँग मिलेर आइसोलेसन र क्वारेन्टाइन बनाएको उनले बताए । पूर्वी पृतनाले प्रदेश सरकारसँग मिलेर मोरङ, झापा, उदयपुरमा झण्डै ४०० श्ययाको छुट्टै क्याम्प (आइसोलेसन वार्ड) बनाइसकेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

अन्य पृतनाले पनि आवश्यक तयारी गरिरहेको छ । केन्द्रबाट पठाउने स्रोत सामग्रीहरु पठाउने क्रम जारी रहेको र भूकम्पका बेलाका सामग्री, टेन्ट सबै प्रयोग हुँदैछ । सेनाले सबै पृतनालाई आकस्मिक कोषका रुपमा रु २५ लाखका दरले दिइसकेको छ । त्यसबाट तयारी भइरहेको छ । सरकारले आइसियूसहितको २० श्यया बनाउन निर्देशन दिएअनुसार वीरेन्द्र सैनिक अस्पतालमा त्यसको तयारीको काम भइरहेको प्रवक्ता पाण्डेले बताए ।

उनले, “हाम्रा सबै ब्यारेक, गणहरु ‘लकडाउन’ जस्तै छ, बिदा भएर आउनेलाई अलग्गै क्वारेन्टाइनमा राखिन्छ, बिदा छुट्टी सबै बन्द भइसक्यो, आन्तरिकसँगै बाह्य सावधानी, रोकथाम र नियन्त्रणका लागि सेना पूर्ण तयारीमा छ ।” उहाँले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि ‘कोर’ समूह तयार पारिएको जानकारी दिए । कुन ब्यारेक र गणमा सिपाही र कमाण्डर को–को खटिने सबै तयारीमा छ, सेनाका चिकित्सक र स्वास्थ्यकर्मी कसरी परिचालन हुने आइसोलेसनमा कसरी काम गर्ने, क्वारेन्टाइनमा सेनाको भूमिका कस्तो रहन्छ सबै कुराको तयारीमा नेपाली सेना रहेको छ । केन्द्रमा १० श्ययासहित विभिन्न स्थानमा गरी ५२ श्ययाको आइसोलेसन वार्डसमेत सेनाले तयारी अवस्थामा राखेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्