Logo

कोरोनाबाट बँच्ने घरेलु उपाय



चैत ८, काठमाण्डौ । कोरोना भाइरसको खतरा जति छ त्यति नै बँच्ने उपाय पनि । स–साना क्रियाकलापमा ध्यान दिन सक्यो भने पनि भाइरसको संक्रमणबाट जोगिन सकिन्छ । विशेषगरी सरसफाईमा ध्यान दिनुपर्छ । सामान्य लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका भएका वा विदेशबाट आएका व्यक्ति कसरी क्वारेन्टाइनमा बस्ने भन्ने पनि जान्नु आवश्यक छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन नेपालले पनि केही तयारी गरेको छ । सरकारी तहमा गरिएका केही महत्त्वपूर्ण निर्णय र आग्रह आमनागरिकले पालना गरे कोरोनाको प्रकोपबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

स्वदेशमा रहेका भन्दा विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिक अलिकति सतर्क भएमा संक्रमणको जोखिम कम गर्न सकिन्छ । विदेशबाट नेपाल आएकाहरूले होम वा सेल्फ क्वारेन्टाइनमा बस्दा धेरै सुरक्षित हुन सकिन्छ । सरकारी संयन्त्रले अनुगमन गरेको छैन वा थाहा पाउँदैन भनेर क्वारेन्टाइनमा नबस्नु भनेको सबैभन्दा पहिले आफू र आफ्नो परिवारलाई संकटमा पार्नु हो । यात्रा गर्दा कोरोनाबाट संक्रमित भए पनि त्यसको लक्षण नदेखिन सक्छ । त्यसैले, क्वारेन्टाइनमा बस्नु सबैका लागि हितकर हुन्छ ।

किनभने सुरुमा संक्रमणको लक्षण नदेखिए पनि १४ दिन वा त्यसभन्दा पछिसम्म संक्रमण देखिन सक्छ । आफूले प्रयोग गरेको र गर्ने सामग्री अरूलाई छुन र प्रयोग गर्न नदिनाले पनि संक्रमणबाट बँच्न सकिन्छ । त्यसैगरी घरका अरू मानिसबाट कम्तीमा एक मिटर टाढा बस्नुपर्छ । घरमा बस्दा मास्क लगाउने र लगाइसकेका मास्कलाई पोको पारेर राख्ने अर्थत जथाभाबी फाल्नु हुँदैन । रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु हुँदैन ।

हालसम्म नेपालमा कोरोना संक्रमित नदेखिएकाले विदेशबाट आएका व्यक्तिसँग सम्पर्क छैन भने रुघाखोकी वा ज्वरो आउँदैमा डराइहाल्नु पर्दैन तर आफूलाई लागेको रुघाखोकी अरूलाई नसरोस् भन्नका लागि घरबाहिर ननिस्किनु राम्रो हुन्छ । सामान्य रुघाखोकी पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ तर रुघाखोकी सर्ने दर कोरोनाको सर्ने दरभन्दा निकै कम हुने चिकित्सकहरु बताउँछन् । रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिल्यैदेखि स्वास्थ्य समस्या भोगरिहेकालाई बढी असर गर्छ ।

यसले हालसम्म बालबालिका तथा गर्भवतीलाई धेरै असर गरेको देखिँदैन । ज्वरो आएको छ, सुक्खा खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चाहिँ तत्काल स्वास्थ्य संस्थामा गएर जचाउनु उचित हुन्छ । ७० प्रतिशतभन्दा बढी एल्कोहल भएको सेनिटाइजर हातमा राम्रोसँग दल्नाले भाइरस नस्ट हुन्छ । ६० वर्ष पुगेका वा श्वासप्रश्वास, मुटुरोग, मधुमेह (चिनी रोग), उच्च रक्तचाप भएका मानिस सबैभन्दा बढी होसियार हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्