Logo

जहाजभित्रै नाराबाजीपछि पछि हट्यो सरकार, नियमविपरित आएका ९८ जना क्वारेन्टाइनमा



चैत ९, काठमाण्डौ । नेपाल सरकारको निर्णयविपरित काठमाण्डौ आइपुगेको जहाजका यात्रुलाई अन्ततः ओराल्न सरकार बाध्य भएको छ । अवतरण भएको करिब ४ घण्टापछि सिल्क एयरबाट काठमाडौं आएका ९८ जना यात्रुलाई विमानबाट बाहिर ल्याइएको हो।

कोरोना भाइरस संक्रमणको शंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले अवतरण भएको जहाजबाट यात्रु झर्न रोके पनि यात्रुहरूले जहाजभित्रै आन्दोलन गर्न थालेपछि उनीहरूलाई बाहिर ल्याइएको हो।

उनीहरुको स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा पठाउनका लागि अहिले प्रक्रिया जारि छ ।(१बजे राति, आइतबार)

विमानस्थल प्रशासनका अनुसार मध्यराति १२ बजेपछि जहाजका यात्रुको स्वास्थ्य परीक्षण थालिएको हो। स्वास्थ्य परीक्षणपछि उनीहरूको अध्यागमन जाँचपासको प्रक्रिया अघि बढाइने छ ।

उक्त जहाज शनिवार बेलुकी ८:३५ मा विमानस्थल अवतरण गरेको थियो । जहाजभित्र रहेका यात्रुहरू कोरोनाको उच्च संक्रमण भएका मुलुकहरूबाट आएको आशंकामा विमानबाट बाहिर ल्याउने अनुमति दिइएको थिएन।

विमानभित्र १ जना अष्ट्रेलियन् र ९७ जना नेपाली नागरिक छन्। उनीहरू विभिन्न देश हुँदै सिल्क एयरबाट काठमाडौं आएका थिए।

विमानभित्र रहेका यात्रुलाई बाहिर ल्याइए पनि काठमाडौंबाट सिंगापुर जान लागेका १६० जना यात्रुको उडान भने रोकिएको छ ।काठमाडौं-सिंगापुर उडान रद्द गरिएको हो ।

सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका थिए । उनीहरुले पनि केहीबेर विमानस्थलमा होहल्ला गरेका थिए । अहिले भने होटलमा लगेर राखिएको छ ।

सरकारले यसअघि विभिन्न मुलुकबाट आएका ६१ जनालाई शनिबार साँझ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखेको थियो।

सरकारले यसअघि नै चैत ९ अर्थात आइतबारबाट चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरिसकेको थियो।



प्रतिक्रिया दिनुहोस्