Logo

कोरोना रोकथाम गर्न छवटा कार्यदल, शङ्का लागे नियन्त्रण गरिने



काठमाडौँ, ९ चैत । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा भएका हाल सम्मका गतिविधिको समीक्षा गर्दै शनिबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सो समितिको संयोजक छन् । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भए पनि क्वारेन्टाइन, आइसोलेसन र उपचारमा पठाइनेछ बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गर्नुभएको सम्बोधन र निर्देशनको कार्यान्वयन, कार्ययोजना बनाउने र अनुगमन गर्ने विषयमा बैठक केन्द्रित भएको बताएका छन् ।

मन्त्री डा. खतिवडाले जोखिम व्यवस्थापनका लागि उच्च तहको राजनीतिक एवं सामाजिक समन्वयको पनि आवश्यकता रहेको बताएका छन् । उनले कोभिड–१९ का कारण आउनसक्ने सम्भावित जोखिम बहन गर्न छवटा कार्यदल गठन भएको जानकारी दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्