Logo

के छ खबर परदेशीको ?



काठमाडौँ, ९ चैत । विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ ।

परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ ९एनआरएनए०को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख नेपाली छन् । परदेसिएका नेपाली उच्च शिक्षा र रोजगारीमा सक्रिय मात्र छैनन्, वर्षमा नौ खर्ब रेमिट्यान्स पठाएर जन्मभूमिको अर्थतन्त्र धानेका छन् । गत आर्थिक वर्ष उनीहरूले आठ खर्ब ७९ अर्ब रेमिट्यान्स पठाएका थिए । यो अभूतपूर्व विपत्मा तिनको अवस्था के छ रु देशले सोध्ने वेला भएको छ ।

विदेशमा हालसम्म चार नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । अस्ट्रेलिया र बहराइनमा एक–एक तथा संयुक्त अरब इमिरेट्स (युएई)मा दुईजनामा देखिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियामा संक्रमित भएका उपचारपछि डिस्चार्ज भइसकेका छन् । बहराइनमा संक्रमितलाई त्यहाँको सरकारले आइसोलेसनमा राखेर उपचार गरेको छ । युएईमा पनि २० र २३ वर्षका दुई नेपाली युवाको उपचार भइरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने, ‘यीबाहेक अरू देशमा नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी नेपाल सरकारलाई प्राप्त भएको छैन ।’

पछिल्ला दिन कोरोना संक्रमणले युरोपको इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा करिब पाँच हजार नेपाली छन् । तर, त्यहाँ नेपाली सुरक्षित रहेको पौड्यालले बताए । एनआरएनएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दवाडीका अनुसार इटालीको उत्तरी भेगका मिलान र लम्बाडी सहरमा नेपालीको बसोवास छ । कोरोना भाइरसको संक्रमण पनि त्यही क्षेत्रमा बढी देखिएको छ । अधिकांश नेपाली होटेल, रेस्टुरेन्ट क्षेत्रमा कार्यरत छन् । तर, युरोपमा नेपालीको बसोवास निश्चित भेगमा मात्र सीमित नरहेको दवाडीले बताए ।

‘एउटा ठाउँमा भनेर गएका नेपाली युरोपका अर्को ठाउँमा बसेर काम वा व्यापार व्यवसाय गरेका छन् । तर, जहाँ रहे पनि एनआरएनएको समन्वयमै छन्,’ उनले भने । बेल्जियममा पनि अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको रिपोर्ट छ । युरोपियन युनियन एवं बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियममा अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको बताए । ‘दूतावास नेपालीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको पाइएको उनले बताए । परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका डिभिजनले त्यहाँका नेपाली समुदाय र सम्बद्ध सरकारसँग समन्वय गर्न दूतावासहरूलाई निर्देशन दिएको छ । (नयाँ पत्रिकाबाट)



प्रतिक्रिया दिनुहोस्