Logo

डाक्टरले भने–सुरक्षित स्वास्थ्य सामग्रीबिना खटिनु परेको छ



काठमाडौ, १२ चैत्र । कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पिपिई व्यक्तिगत सुरक्षा सामग्री नहुँदा चिकित्सकलाई समस्या भएको छ । स्वास्थ्य सेवा कार्यालयमा पुग्ने बिरामीको उपचारमा पिपिईबिनै खटिनुपरेको चिकित्सकको भनाइ छ ।

स्वास्थ्य संस्थामा आउने बिरामीलाई मास्कमात्रै लगाएर चिकित्सकले जाँच गरिरहेको डा भूपेन्द्रप्रकाश मल्लले बताए । “कस्तोखालको बिरामी हो ? के हो ? भन्ने यकिन थाहा पाउनका लागि शुरुमा हामी पहिला सुरक्षित हुनुपर्ने हुन्छ तर हामीसँग सुरक्षाको कुनै पनि साधन छैन”, डा मल्लले भने ।

कोरोना मात्र नभएर अन्य सङ्क्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पिपिईबिना सुरक्षित नहुने भए पनि ती सामग्री नहुँदा उपचारमा समस्या भएको उनको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पिपिई लगाएर मात्र उपचारमा खटिनु पर्छ । पिपिईले कपालदेखि पैतालासम्म छेक्ने भएकाले भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोकिने चिकित्सकको भनाइ छ ।

जाजरकोट जिल्ला अस्पतालमा कोभिडका बिरामी राख्न तयार भएको आइसोलशनमा पिपिई नहुँदा सङ्क्रमित बिरामी आएमा कसरी उपचार गर्ने समस्या रहेको छ । अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भने, “श्यया छुट्याऊ, बिरामी आए उपचार गर भन्ने निर्देशन छ तर सुरक्षा सामग्री दिइएको छैन, सयौँको सङ्ख्यामा बिरामी आए भने हामीसँग स्रोत, साधनबिना कसरी उपचार गर्ने रु”

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले भने, “हामीसँग पैसा छ, किन्नका लागि सामग्री छैन ।” त्यस्तै टाढैबाट ज्वरो नाप्नका लागि चाहिने उपकरण नहुँदा अर्को समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, “आरआर गन, थर्मल गन ल्याउने कामका लागि पहल भइरहेको छ, जुनिचाँदे गाउँपालिकामा औषधि कम भएकाले औषधि खरिदका लागि सबै ठाउँमा सम्पर्क बढाएको छ ।”

विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ भने भारतबाट आएकाको खोजी कार्य जारी रहेको जुनिचाँदे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए । सोमबार नेपालगञ्ज बहुमुखी क्याम्पसबाट क्वारेन्टाइन तोडफोड गरी भागेर जाजरकोट आएका भेरी नगरपालिका–११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लिले खड्का र परवीर महतारालाई जाँच गरी सुरक्षित ठाउँमाखिएको प्रजिअ पन्तले जानकारी दिए ।

जिल्लामा खाना पकाउने ग्यासको अभाव हुन नदिन व्यापारीलाई नेपालगञ्ज पठाएको उनले बताए । सरकारले घोषणा गरेको ‘लक डाउन’ पूरै पालन भएको प्रजिअको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्