Logo

हेटौडामा लकडाउन अवज्ञा गर्ने नियन्त्रणमा



हेटौडा, १२ चैत्र । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ यातायात साधनलई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसार नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरी अनावश्यक रूपमा सडकमा हिँडनेलाई नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लङ्घन गरेर हिँड्ने १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार घर बाहिर सडकमा निस्कनेलाई प्रहरीले तीन मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ ।

अनुगमन र निगरानी गर्न जनप्रतिनिधीलाई खुलालको आग्रह

जिल्ला समन्वय समिति जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उनले आग्रह गरे ।

कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि वडाध्यक्ष, सदस्यलगायत टोल विकास संस्थालाई आ–आफ्नो स्थानीय तहका वडाका घर÷घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलालले अग्रह गर्नुभएको उनको प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्