Logo

लकडाउन अझै दुई साता बढाउने सरकारको तयारी



काठमाडौं, १२ चैत्र । सरकारले लकडाउनको अवधि बढाउने तयारी थालेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार अहिले घोषणा गरिएको एक साताको लकडाउन अवधि अझै दुई साता थप्ने सरकारको योजना छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार राति बसेको बैठकले हिजो मंगलबार बिहानबाट चैत्र १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र निधन हुनेको संख्यासमेत दश पुगेकोले भारत सरकारले हिजोबाट तीन साता लकडाउनको घोषणा गरेको छ।

नेपालमा जतिपनि संक्रमणको केश छन्, ती सबै विदेशबाट आयात भएको हो । तीन जनाको केशमा उनीहरुले रोग ल्याएको देखिएपनि नेपालमा अन्यलाई अहिलेसम्म सारेका छैनन् । यो सुखद अवस्था हो । परराष्टमन्त्री प्रदीप ज्ञवालीले सरकारले सुरु गरेको एक साताको लकडाउन आवश्यकत्ताअनुसार थप्ने संकेत गरेका छन् । उच्चस्तरीय समन्वय समितिको बैठक आजपनि बसिरहेको छ । आजको बैठकमा अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदबारे छलफल भैरहेको बुझिएको छ ।

यद्धपी आफूहरुले अहिलेसम्म लकडाउन बढाउनेबारे कुनै निर्णय नगरेको मन्त्री ज्ञवालीले स्पष्ट पारेका छन् । उनले तर लकडाउन एक साताबाट बढाए तीन साता बनाउने अर्थात अझै दुई साता थप्ने दिशातर्फ सरकार जानेपनि जनाए । सरकारले नचाहँदा नचाहँदै पनि लकडाउनको अवधि थप्न सक्ने हुँदा त्यसप्रति सचेत हुन आम नेपाली जनतालाई मन्त्री ज्ञवालीको आग्रह छ ।

सरकारले एक साता लकडाउन गरेपछि काठमाडौं उपत्यका सुनसान छ। मंगलबार विहान ५ बजेदेखि लकडाउन गरेपछि काठमाडौंमा अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन्। यता, नेपालमा पनि संक्रमितको संख्या तीन पुगेको छ । एक जना सफल उपचारपछि घर फर्किएका छन् भने बाँकी दुई जनाको आईसोलेशनमा राखेर उपचार भैरहेको छ । आज मात्र नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

तीनजनामध्ये पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आशोलेशनमा बसेका थिए । नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् । उनी संक्रमित भएको डेढ महिनासम्म कोही संक्रमित नभएको तथ्यांक आयो । तर, यसै हप्ता लगातार दुईजना संक्रमित भेटिएका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । काठमाडौं मैतीदेवी स्थायी घर भएकी उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार पुष्टि भएको छ । ती व्यक्तिको बारेमा वृस्तृत विवरण आउन बाँकी छ । तर, उनीपनि वैदेशिक रोजगारीको लागि विदेशमा थिए । उनी चैत्र ५ गते काठमाडौं आएका थिए ।



प्रतिक्रिया दिनुहोस्