Logo

विद्यालय क्वारेन्टाइन बनाइँदै



तनहुँ, १२ चैत्र । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित गाउँफर्कोदय माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाइने भएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मी र आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सन्देश थापाबीच आज भएको बैठकपछि विद्यालय भवनमा क्वारेन्टाइन बनाउन लागिएको हो ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन लागिएको वडाध्यक्ष रेग्मीले जानकारी दिए । उनका अनुसार विदेशबाट फर्किएकालाई सुरक्षित रुपमा राख्न क्वारेन्टाइन बनाउन लागिएको हो । “एक साता अगाडी पाँच जना विदेशबाट फर्किएका छन्, अस्पतालमा परीक्षण पश्चात् उनीहरु होम क्वारेन्टाइनमा छन्,” उनले भने, “विदेशबाट फर्किएका अरु पनि हुन सक्ने भएकाले टोल विकास संस्थामार्फत् तथ्याङ्क लिने काम भइरहेको छ ।” उनीहरुको आधारभूत स्वास्थ्य केन्द्र मार्फत् नियमित स्वास्थ्य परीक्षण गरिनेछ ।

वडाभित्र घर नभएका तर भाडामा बस्ने, विदेशबाट फर्किएका र स्थानीयवासीमा पनि कोरोना सङ्क्रमणको प्रारम्भिक लक्षण देखिएमा विद्यालयमा निर्माण गरिने क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । वडाध्यक्ष रेग्मीले सुरक्षित र सतर्कताका साथ क्वारेन्टाइनमा राखी त्यस्ता शङ्कास्पद व्यक्तिको उपचारको व्यवस्था मिलाइने जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्