Logo

नेपालमा कोरोना भाइरस फैलने जोखिम किन बढी



काठमाडौं, १२ चैत्र । नेपालमा आन्तरिक र बाह्य दुवै कारणले कोरोना भाइरस फैलन जोखिम बढी छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको बढी जोखिम हुने देशको सूचीमा राखेको छ ।

कोरोना भाइरस शुरुमा देखिएको चीन नेपालको छिमेकी मुलुक हो । चीनसँग नेपालको व्यापारिक सम्बन्ध मात्र नभई नेपाली विद्यार्थीहरुको पछिल्लो समय चीन अध्ययनका लागि जाने संख्या बढेको छ । नेपालमा पहिलो कोरोना संक्रमित व्यक्ति चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थी थिए । उनी चीनबाट फर्किएपछि संक्रमित भएको खुलेको थियो ।

नेपालको अर्को छिमेकी मुलुक भारत हो । भारतसँग नेपालको निकै नजिकको सम्बन्ध छ । सहज आवतजावत गर्न सकिने सीमा बन्द गरिएपनि पूर्ण रुपमा बन्द गर्न सकिदैन । अर्कोतर्फ भारत कोरोना भाइरसको जोखिम बढी भएको देश हो । भारतको उत्तर प्रदेश र विहारसँग नेपालको लामो सीमा जोडिएको छ । दुवै राज्य घना वस्ती र जनसंख्या भएकामा पर्दछन् । दुवै राज्यमा प्रति वर्गकिलोमिटर नौ सयभन्दा बढी मानिसहरु बस्दछन् । संयुक्त परिवार छ जहाँ पाँच भन्दा बढी एउटा परिवारमा रहेका छन् । त्यसैले विहार र उत्तर प्रदेश बढी जोखिम भएका राज्यमा पर्दछन् ।

नेपालमा पनि तिव्र शहरीकरणले केही सिमित शहरहरुमा वस्ती बढाएको छ । विशेषगरी काठमाडौं, विराटनगर, वीरगञ्ज, भैरहवा, बुटवल, नेपालगञ्ज, चितवन जस्ता शहरहरुमा घना वस्ती छ । मानिसहरु एक अर्कामा बढी नजिक हुने अवस्थामा कोरोना भाइरस बढ्न सक्छ । चिकित्सक डा. प्रभात अधिकारी कम्तिमा छ फिट टाढा बस्नुपर्ने औल्याउँछन् । तर, ठूलो संयुक्त परिवारमा यो अभ्यास सहज छैन । डा. अधिकारी संक्रमित बढ्न सक्ने औल्याउँछन् । रोगको लक्षण देखिन कम्तिमा एक हप्ता लाग्ने भएकाले को को मा कति पुग्यो भन सक्ने अवस्था नभएको बताउँछन् ।

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नेपाललाई कोरोना भाइरसको अति जोखिममा परेको भन्दै आएका छन् । उनले संक्रमण फैलिइसकेको र त्यसका लागि टेष्ट राम्ररी नभइरहेको बताएका थिए । उनले लकडाउन र सीमा बन्दको विषयमा बोल्दै आएका थिए ।
रोचक पक्ष के छ भने नेपालमा अहिलेसम्म संक्रमित देखिएकाहरु भारतबाट आएका पर्दैनन् । तीन जना संक्रमित चीन, फ्रान्स र कतारबाट आएको भनिएको छ । उनीहरु नेपाल भित्रिइसकेकाले सम्पर्कमा आएकाहरु पनि संक्रमित हुनसक्ने खतरा उत्तिकै छ । नेपालीहरु बढी सामाजिक सम्पर्कमा आइहाल्ने भएकाले पनि संक्रमणको खतरा बढी छ । भीडभाड र इष्टमित्र कहाँ पुगिहाल्ने प्रचलन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्