Logo

बैंकको कर्जाको सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगित, ब्याजदर घटाइएन



काठमाडौं, १२ चैत्र । सरकारले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी चेत्र मसान्तसम्मका लागि बैंक तथा वित्तीय संस्थाहरुले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्म स्थगत गर्ने निर्णय गरेको छ । आज अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले स्थगन यसपछि पनि लम्बिने संकेत गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सबै बैंक तथा वित्तीय संस्थाहरुले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली सम्बन्धी कार्य हालका लागि चैत्र मसान्तसम्म स्थगन गर्ने ।’

निर्णयमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउने भनिएको छ । तर, बैंक तथा वित्तिीय संस्थाले ब्याजको प्रतिशतबारे कस्तो निर्णय गर्ने हुन् खुलाइएको छैन । बैठकमा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति, सहकारी विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपला बैकर्स एसोसियसनका प्रतिनिधि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्