Logo

विदेशी नागरिकलाई फर्कन सहजिकरण गरिने



काठमाडौं, चैत १३ । सरकारले विभिन्न देशबाट स्वीकृतिमा नेपाल आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कनका लागि सहजीकरण गर्ने निर्णय गरेको छ। ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिको बुधबारको बैठकले गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई स्वदेश फर्क सहजिकरण गर्ने निर्णय लिएको हो।

नेपालभित्र विभिन्न स्थानमा रहेका उनीहरुलाई हवाई उद्धार गरी काठमाडौं ल्याउने जनाउँदै समितिले भनेको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गरिने छ।’ यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा राख्ने निर्णय गर्दै आफ्नै खर्चमा उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।

त्यस्तै, स्थानीय तहहरूले आआफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्न निर्देशन दिएको छ। स्थानीय स्वास्थ्य संयोजकले कोभिड१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने आग्रह गर्दै भनेको छ,‘यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा र सो केन्द्रले आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्दमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउने।’

प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्न आग्रह गर्दै बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था मिलाएको जनाएको आजको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्