Logo

कोरोनाले इटालीका ३७ डाक्टरको मृत्यु, विश्वभर झण्डै ५ लाखमा संक्रमण



चैत १३, काठमाण्डौ । कोरोना भाइरस(कोभिड–१९) ले सबैभन्दा धेरै मानवीय क्षति पुर्याएको इटालीमा चिकित्सकसमेत ३७ जनाले ज्यान गुमाइसकेका छन् । दिनप्रतिदिन कोरोना भाइरस फैलिइरहेको इटालीमा संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु भएको हो ।

बिहीबार बेलुका ८ः४५ बजेसम्म इटालीमा ३७ चिकित्सकसहित कूल ७ हजार ५ सय तीन जनाले ज्यान गुमाएका छन् । अहिले त्यहाँ कोरोना संक्रमितको संख्या ७४ हजार नाघेको छ । कूल संक्रमितमध्ये करिब ९ हजारभन्दा बढि भने निको भएका छन् ।

युरोपकै अर्को देश स्पेनमा मृत्यु हुनेको संख्या ४ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ सय ६५ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ७३ जनामा संक्रमण देखिएको छ ।

अहिलेसम्म स्पेनमा संक्रमितको कूल संख्या ५६ हजार १ सय ८८ पुगेको छ । त्यहाँ मार्च १३ देखि पुरै लकडाउन गरेर कोरोनाको महामारी नियन्त्रणका लागि कदम चाले पनि सफल हुन सकेको छैन ।

त्यस्तै चीन र इटालीपछि सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा बिहीबार साँझसम्म एक हजार ३७ जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ६८ हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणबाट इरानमा २ हजार २ सय ३४ जनाको ज्यान गएको छ । त्यहाँ करिब ३० हजारमा संक्रमण देखिएको छ ।

कोरोनाको उद्गमस्थल चीनमा ३ हजार २ सय ८७, फ्रान्समा एक हजार ३ सय ३१, बेलायतमा ४ सय ६५, नेदरल्यान्ड्समा ४ सय ३४, स्विजरल्यान्डमा १७१, बेल्जियममा २२० र दक्षिण कोरियामा १३१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म यो भाइरस विश्वभरका १९८ देशका चार लाख ९२ हजारभन्दा बढी नागरिकमा संक्रमण भएको छ ।

अहिलेसम्म कूल मृतकको संख्या २२ हजार एक सय ८० पुगेको छ । त्यस्तै एक लाख १९ हजारभन्दा बढी निको भएका छन् । अहिलेसम्मको तथ्याङ्कमा कूल संक्रमितमध्ये १६ प्रतिशतको मृत्यु भएको छ भने १७ हजार ७ सयको अवस्था चिन्ताजनक छ ।



प्रतिक्रिया दिनुहोस्