Logo

प्रधानमन्त्रीले खानै नपाएर भोकै कोहीपनि मर्दैन भन्नुभएको छ- विष्णु रिमाल



काठमाडौं, १५ चैत्र । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सबैलाई संयम हुन आग्रह गरेका छन् । उनले लकडाउन लम्ब्याउने नलम्ब्याउने विषय प्राविधिक भएको समेत बताएका छन् । रिमालसँग ऋषि धमलाले गरेको कुराकानीः
लकडाउन सफल भएको हो ?
यसमा सफल, असफल भन्ने हुँदैन । यो जनताका लागि सरकारले आह्वान गरेको हो । यसलाई उहाँहरुले पालना गरिरहनुभएको छ । यसमा मान्छेसँग भेटघाट नगरेर एक्लै बस्नुपर्छ भन्ने अपेक्षा सरकारको हो । यसबीचमा केसहरु आइरहेपनि रेकर्ड कमी भइराखेको भन्ने छ । संक्रमितहरु कत्तिको आउनुभएको त्यसको बारेमा डाक्टरहरुले बताउनु हुन्छ मैले भन्दा । यसको लक्षणहरु एउटा मान्छेमा बिस्तारै जाने अनि धेरै मान्छेमा सर्दै जाने हुन्छ । अहिले सरकारको आह्वानलाई जनताले साथ दिएका छन् ।
लकडाउनमा जनतालाई कुनै समस्या हुँदैन ?
यो एक्कासी आएको समस्या भएकाले सबै मिलेर संयमतापूर्वक काम गर्ने हो । फेरि यो भनेको कुनै व्यक्तिले चाहेर भएको समस्या होइन । आफ्नो स्वास्थ्यको लागि सबैले गर्नुपर्ने काम हो । केही व्यक्तिहरुले नबेझर बाहिर आएका छन् । उहाँहरुले पनि विस्तारै बुझ्नुहुन्छ । दोस्रो कुरा काम गरेर खानुपर्ने मान्छे घरमै बसेपछि दैनिक गुजारा कसरी चल्ला भन्ने हो । त्यसमा उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति बनेको छ । अर्को सचिवको नेतृत्वमा एक्सन कमिटी बनेको छ । तिनीहरुले गृहकार्य गरिरहेका छन् ।
अहिलेसम्म डाक्टरहरुलाई अत्यावश्यक सामाग्री नै छैनन्, कसरी गर्नुहुन्छ ?
अहिले अब हामीसँग जे छ त्यहीबाट काम चलाउनुपर्छ । सामान्य रुघाखोकी लागेको मान्छे आउनेबित्तिकै डाक्टरहरु आत्तिएर भाग्नुपर्ने होइन । फेरि डाक्टरहरुले पनि सामान्य रुघाखोकी लागेको छ भने नआउनु भन्नुभएको छ । अहिले चाहेर पनि सामान किन्न पाउने अवस्था छैन । जुन देशमा सामान पाइन्छ त्यही नै यो समस्या छ ।
शनिबारभित्र आवश्यक सामाग्रीहरु आइपुग्छ ?
त्यसबारेमा मैले बीचमा बोल्न राम्रो हुँदैन । के सामान ल्याउने कहाँबाट ल्याउने भन्ने मन्त्रालयका जे सल्लाह भएको त्यसै अनुसार काम भइरहेको छ ।
दिनभरि काम गरेर बेलुका खाने मजदूरहरुको लागि राहतको व्यवस्था हुन्छ ?
यसको बारेमा त हाम्रा प्रधानमन्त्रीले पहिले ‘खानै नपाएर भोकले कोही मर्दैन’ भन्नुभएको छ नि । छेउछाउका मुलुकले गरेको घोषणाबाट प्रभावित हुनुभएन । यहाँ सरकारले गरेन भने पनि जनता–जनताले उठाएर गरेको इतिहास छ । यसको बारेमा गृहकार्य भइरहेको छ । पहिला महामारीबाट जोगाउनुपर्यो, त्योसँगसँगै भोकमरीबाट पनि जोगाउनुपर्यो । व्यवसायीहरुले पनि उद्योग बन्द भयो भन्दैमा श्रमिकलाई निकाल्ने, तलब दिन्न भन्ने गर्नुभएन । बाहिर बसेका व्यक्तिले सरकारले गरेन भनेर चिन्ता गरेजस्तै निर्णय गर्ने ठाउँका व्यक्ति पनि त्यत्तिकै चिन्तित छन् ।
सरकारले जनतालाई परेको सबै समस्याको समाधान गर्छ ?
सक्दो प्रयास गर्छ । मीठो नभनौ पट भर्नेसम्मको काम सरकारले गर्छ । महामारी रोक्नतिर लागेको बेलामा यस्तो भयो भने के खाने भन्न थाल्यौं भने ध्यान बिकेन्द्रित हुन्छ । त्यसकारण पहिला रोग नियन्त्रण, दोस्रो संक्रमितको उपचार, तेस्रो भोकमरीबाट जोगाउने र उद्योगी व्यवसायीको बारेमा सोच्ने ।
व्यवसायीहरु बैंकको ब्याज मिनाह हुनुपर्यो भन्छन् नि ?
अहिलको अवस्थामा चिकित्सक, सुरक्षाकर्मी र कर्मचारी यो युद्धको पहिलो योद्धा हो । किन भने उहाँहरु पहिलो पंत्तिमा उभिनुभएन भने महामारीबाट कसैलाई जोगाउन सकिँदैन । त्यसैले उहाँहरुलाई राज्यले उच्च ढंगले मूल्यांकन गर्नुपर्छ । व्यवसायीको कुरा गर्दा सिंगो मुलुक नै अहिले संकटमा छ । अरुको जसरी गरिन्छ, त्यही तरिकाबाट व्यवसायीहरुको पनि उद्दार गर्ने हो ।
भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने छ, त्यो सम्भव छ ?
अहिले विश्वका जुनसुकै मुलुकबाट आएकालाई पनि क्वारेन्टाइनमा राख्ने भनिएको छ । यहाँ भारतबाट आउने मात्रको कुरै होइन । जो–जो त्यसरी बाहिरबाट आउनुभएको छ । उहाँले एकले अर्कालाई छातछुत गर्नुभएन । जो बिरामी अवस्थामा देखिन्छ उहाँलाई सिधै अस्पताल ल्याउने कुरा गरिएको छ । सुदुपश्चिमका केही जिल्लामा स्थानीय तहमै रोकेर राख्नुभएको छ । उहाँहरुलाई घेरैमा गएर क्यारेन्टाइनमा राख्ने सम्भावना नभएकाले त्यही रोक्नुभयो । जुन ठाउँमा उल्लंघन गर्ने प्रयत्न भएको त्यसलाई रोक्ने प्रयास भएको छ । जहाँका जनताहरु बढी बुभ्mनुहुन्छ उहाँलाई आफ्नो घरमा कसैलाई नछोइ बस्नुस् भनिएको छ । जुन व्यक्ति संक्रमित छ, उसले परिवारमा छातछुत गर्ने काम ग¥यो भने उहाँको परिवारै सखाप हुन सक्छ । त्यसलाई बुझ्न जरुरी छ । अहिले बिरामी भएको नभएको को कहाँबाट आएको भन्ने स्थानीय तहबाट पहिचान गर्ने र विरामी भएकाले अस्पत्ताल ल्याउने काम स्थानीय तहबाट भइराखेको छ ।
लकडाउन लम्बिन सक्छ ?
त्यसको बारेमा निर्णय नगरी भन्न मिल्दैन । संक्रमणको स्थिति के हुन्छ त्यसलाई हेरेर निर्णय गर्ने हो । यसमा राजनीतिक निर्णय हुँदैन, प्राविधिक हुन्छ । अझ चिकित्सकहरुको हातमा उहाँहरुले संक्रमणको दर सामान्य भयो भने यसलाई खुकुलो बनाउँदै जाने हो । अब संक्रमणको बारेमा जाचबुझ नै भइसकेको छैन । त्यसैले यसलाई पूर्वानुमान गर्न मिल्दैन ।



प्रतिक्रिया दिनुहोस्