Logo

तनहुँ अपडेटः एम्बुलेन्स चालकको जीवन बीमा



तनहँ, १५ चैत्र । तनहुँको भानु नगरपालिकाले नगरक्षेत्रभित्रका एम्बुलेन्स चालकको जीवन बीमा गरिदिएको छ । कोभिड–१९ का शङ्कास्पद बिरामीलाई सेवा प्रवाह गर्ने क्रममा एम्बुलेन्स चालक जोखिममा हुने भएकाले नगरपालिकाले जीवन बीमाको व्यवस्था गरेको हो ।

नगरक्षेत्रभित्र सञ्चालित तीन एम्बुलेन्सका चालकका जीवन बीमाको व्यवस्था मिलाइएको नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । “एम्बुलेन्स चालकलाई प्रोत्साहन गर्नका लागि उनीहरुको जीवन बीमा गर्ने व्यवस्था मिलाएका हौँ,” पाण्डेले भने, “यो निर्णयले विपद्को अवस्थामा एम्बुलेन्स चालक पनि इमानदारपूर्वक खटिने विश्वास गरेका छौँ ।”

नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने र उनीहरुको पनि जीवन बीमाको व्यवस्था गरिदिने निर्णय गरेको छ । नगरक्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि घरबाट बाहिर ननिस्कन दैनिक प्रचारप्रसार र माइकिङ गरिएको र विदेशबाट फर्किनेको तथ्याङ्क लिने काम भइरहेको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र हालसम्म २१ जना विदेशबाट फर्किएको फेला परेको छ । उनीहरुलाई घरमा नै सुरक्षित रुपमा बस्न सुझाव दिइएको छ ।

नगरपालिकाका ७५ स्वास्थ्यकर्मी, ७२ स्वयंसेविका, कर्मचारी र जनप्रतिनिधि सचेतनामूलक अभियानमा खटिएका छन् । कोभिड–१९ का शङ्कास्पद बिरामी देखिएमा तत्काल एम्बुलेन्सबाट बिरामीलाई बन्दीपुर अस्पतालको आइसोलेशन वार्डमा लैजाने व्यवस्था मिलाइएको छ । नगरपालिकाले नगरक्षेत्रभित्रका स्वास्थ्यकर्मी सम्मिलित दु्रत प्रतिकार्य टोली समेत गठन गरेको छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि प्रत्येक वडामा मास्क र स्यानिटाइजर पठाइएको छ भने नगरक्षेत्रभित्र कोभिड–१९ का सङ्क्रमित भेटिएमा सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्नेछ ।

स्थानीय तहको तयारी
कोभिड–१९ को सङ्क्रमण फैलन नदिन जिल्लाका स्थानीय तहले पहल थालेका छन् । नेपालमा चार जनामा कोभिड–१९ को पुष्टि भएसँगै यहाँका स्थानीय तहले यसको जोखिम नियन्त्रणका लागि सजगता अपनाएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा एक÷दुई साताको अवधिमा विदेशबाट घर फर्किनेको सङ्ख्या ठूलै रहेको पाइएपछि त्यस्ता व्यक्तिको तथ्याङ्क सङ्कलनमा स्थानीय तह जुटेका छन् । विदेशबाट फर्किनेको पहिचान गरेर उनीहरुलाई निगरानीमा राख्न सकिए कोभिड–१९ को सङ्क्रमण कम गर्न सकिने व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । “नगरपालिकाको १४ वडामा नै विदेशबाट घर फर्किनेहरुको तथ्याङ्क सङ्कलनमा जुटेका छौँ,” उहाँले भन्नुभयो, “कोभिड–१९ को जोखिम कम गर्न नगरपालिका गम्भीर भएर लागिपरेको छ ।

नगरपालिकाले सबै वडामा वडाध्यक्षको अध्यक्षतामा समन्वय समिति गठन गरेर कोभिड–१९ को नियन्त्रणका लागि पहल गरेको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनहाँका अनुसार कुनै कठिनाइ भएमा सम्बन्धित वडाध्यक्षलाई सम्पर्क गर्न सबै नगरवासीलाई आग्रह गरिएको छ ।
“सम्पूर्ण टोल विकास संस्थाहरुलाई विदेशबाट आएका व्यक्तिको निगरानी गरी वडाध्यक्षलाई जानकारी गराउन र विशेष अवस्थामा नगरपालिकाको हटलाइन ०६५–५६००३४ मा सूचना गर्न आग्रह गरेका छौँ”, न्यौपानेले भने, “साथै विदेशबाट आउने र विदेशबाट आउनेसँग सम्पर्क रहने व्यक्ति वा परिवारलाई केही दिन क्वारेन्टाइनमा बस्न र कोरोनाको लक्षण देखिएमा तत्काल उपचारमा आउन अपिल गरेका छौँ ।”

नगरपालिकाले वडा नं ३ स्थित किरियापुत्री भवनमा आठ शय्याको आइसोलेशन कक्ष, वडा नं ५ स्थित पराशर आश्रम, स्थानीय सामुदायिक तथा निजी क्याम्पस, सामुदायिक तथा निजी विद्यालय भवनलाई क्वारेन्टाइनको रुप दिएको छ ।

भानु नगरपालिक कार्यालय परिसरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ भने स्वास्थ्यकर्मी टोली सुविधासम्पन्न सामग्रीसहित पूर्ण तयारीमा रहेको पाण्डेले जानकारी दिए ।

ऋषिङ गाउँपालिकाले शिव माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । विदेशबाट आएकाहरुलाई स्वास्थ्य परीक्षण गराएर मात्र गाउँ प्रवेश गर्नका लागि गाउँपालिकाले सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य एकाइमा स्वास्थ्य जाँचका लागि व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका कुनै पनि नागरिकलाई कोभिड–१९ को सङ्क्रमण भएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ ।

म्याग्दे गाउँपालिकाले पनि कोभिड–१९ को जोखिम नियन्त्रणका लागि पूर्व तयारी अपनाएको छ । लकडाउनका अवधिमा घरबाट बाहिर ननिस्कन गाउँवासीलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनका अनुसार शङ्कास्पद बिरामी फेला परे गाउँपालिकाले निःशुल्क उपचार गर्ने निर्णय भएको छ ।

शङ्कास्पद बिरामी राख्नका लागि गाउँपालिकाभित्रका सबै विद्यालय भवनलाई क्वारेन्टाइन बनाइएको छ । “कोभिड–१९ को सम्भावित जोखिमलाई नियन्त्रणका लागि गाउँपालिका गम्भीर भएर लागिपरेको छ”, नागिलाले भने । शङ्कास्पद बिरामीको उपचारका लागि म्याग्दे गाउँपालिका–३ स्थित जामुने स्वास्थ्यचौकीमा पाँच शय्याको आइसोलेशन वार्ड पनि तयार गरिएको छ । उहाँका अनुसार गाउँपालिकाभित्र विदेशबाट फर्किएका सर्वसाधारणको तथ्याङ्क सङ्कलनका लागि सबै वडा कार्यालयलाई निर्देशन जारी गरिएको छ ।

कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि भीमाद नगरपालिकाले आपत्कालीन कोष खडा गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सर्वसाधारणलाई सचेतना जगाउन नगरपालिकाले कोष खडा गरेर उक्त कोषमा रु तीन लाख बजेटको व्यवस्था गरेको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिए ।

कोभिड–१९ विरुद्ध वडाभर सचेतना कार्यक्रम सञ्चालनका लागि कोषमा रकम जम्मा गरिएको उनले बताए । उनका अनुसार नगरवासीलाई कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित बनाउन प्रत्येक वडामा समिति गठन गरी सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाइएको छ । नगरपालिकाले कोभिड–१९ बाट सङ्क्रमित भएको भेटिए तत्काल उपचारका लागि व्यवस्था मिलाउने जनाएको छ । कोभिड–१९ को सङ्क्रमण भएको शङ्का लागेमा नगरपालिकाको खर्चमा नै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशन वार्डमा पु¥याइनेछ ।

शुक्लागण्डकी नगरपालिकाले विदेशबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन गरी होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार प्रत्येक वडामार्फत विदेशबाट फर्किनेहरुको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।

घिरिङ गाउँपालिकाले तीन स्वास्थ्यचौकीमा नौ शय्याको आइसोलेशन वार्ड निर्माण गरेको छ भने विदेशबाट आउनेहरुको तथ्याङ्क सङ्कलन गरिरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । रानाका अनुसार हालसम्म ४० भन्दा बढीको तथ्याङ्क सङ्कलन गरिएको र उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न सुझाव दिइएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि कोभिड–१९ नियन्त्रणका लागि पूर्व तयारी अपनाएका छन् ।

होम क्वारेन्टाइनमा ४१०
विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या तनहँुमा ४१० जना पुगेको छ । दुई साताका अवधिमा विभिन्न देशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा बसेको नोभल कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उहाँका अनुसार जिल्लाका दशै स्थानीय तहले विदेशबाट फर्किने व्यक्तिको विवरण सङ्कलन गरिरहेको छ ।

भानु नगरपालिकामा १३, व्यास नगरपालिकामा ४५, शुक्लागण्डकी नगरपालिकामा १०७, भीमाद नगरपालिकामा १०१, म्याग्दे गाउँपालिकामा २५, ऋषिङ गाउँपालिकामा ७५, देवघाट गाउँपालिकामा २०, घिरिङ गाउँपालिकामा २, बन्दीपुर गाउँपालिकामा ११ र आँबुखैरेनी गाउँपालिकामा १२ जना होम क्वारेन्टाइनमा बसेका छन् । घिरिङ गाउँपालिकाले भने शुक्रबारदेखि मात्रै विदेशबाट फर्किनेको तथ्याङ्क सङ्कलन शुरु गरेको छ । विदेशबाट फर्किएका व्यक्तिलाई नजीकका स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न आग्रह गरिएको छ ।

जिल्लाका ३४ स्थानमा क्वारेन्टाइन बनाइएको छ । उक्त क्वारेन्टाइनमा भने अहिलेसम्म कसैलाई पनि राखिएको छैन । त्यस्तै व्यास, बन्दीपुर, शुक्लागण्डकी र देवघाटमा आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्लामा भारत, दुबई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलियालगायतबाट घर फर्किने धेरै छन् । रासस



प्रतिक्रिया दिनुहोस्