Logo

नेपालमा कोरोना भाइरस संक्रमित पाँच जना को को हुन्



काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसका पाँचजना संक्रमित भेटिएका छन् । यसै हप्ता चारजना संक्रमित भेटिएपछि जोखिम बढेको तथ्य खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल चार व्यक्ति संक्रमणपछि उपचार गराइरहेका छन् । ती मध्ये दुईजना टेकु अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् । अर्का व्यक्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् भने अर्की किशोरी उपत्यकाबाहिर उपचाररत छिन् ।

संक्रमितमध्ये पहिलो संक्रमित ९ माघमा परीक्षणबाट पत्ता लागेको हो । चीनबाट आएका नेपाली विद्यार्थीमा संक्रमण भेटिएपछि उनको उपचारपछि निको भएको थियो ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । उनलाई ९ चैत्रमा संक्रमण भएको खुलेको थियो । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको १२ चैत्रमा पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत छन् । ३४ वर्षीय ती पुरुष दुबईबाट ७ चैत्रमा अगाडि फर्किएका हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएका युवक दुबईबाट दिल्ली काठमाडौं, नेपालगञ्ज हवाई मार्गबाट र त्यहाँबाट सडक मार्गबाट ८ चैत्रमा कैलाली पुगेको बुझिएको छ ।

कोरोना संक्रमित पाचौं व्यक्ति १९ वर्षीया किशोरी हुन् । बाग्लुङ स्थायी घर भएकी उनी बेल्जियमबाट फर्किएकी हुन् । उनी संक्रमित भएको १५ चैत्रमा पत्ता लागेको हो ।

किशोरी ४ चैत्रमा बेल्जियमबाट कतार हुँदै काठमाडौं फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी कतार एयरवेजको क्युआर ६५२ विमानबाट काठमाडौं फर्किएकी हुन् ।

डा. देवकोटाका अनुसार यो काठमाडौं उपत्यकाबाहिरबाट आएको दोस्रो केस हो । किशोरीको अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्