Logo

विश्वका आधा भागमा लकडाउन हुँदा ‘कोरोना भाइरसको उदगमस्थल’ वुआन खुल्यो



काठमाडौं, १५ चैत्र । कोरोना भाइरसको पहिलोपटक पत्ता लागेको चीनको वुआन क्षेत्र आजबाट खुलेको छ । मानिसहरु घरबाहिर निस्कन थालेको र यात्रा समेत गरिरहेको तस्बिर सार्वजनिक भएको छ ।

शनिबार यात्रुहरु वुआनको रेल्वे स्टेशनमा आवतजावत गरेको तस्बिर सार्वजनिक गरिएको छ । मानिसहरु मास्क लगाएर हिंडेको देखिन्छ । पहिलोपटक वुआनमा कोरोना भाइरसका संक्रमित तीन महिना अगाडि पत्ता लागेका थिए । त्यसको केही समयपछि वुआन लकडाउन गरिएको थियो । दुई महिनाभन्दा बढी लकडाउनपछि वुआनमा कोरोना भाइरस धेरै नियन्त्रणमा आएको थियो ।

हुबई प्रान्तको राजधानी वुआनमा ५० हजार कोरोना संक्रमित भेटिएका थिए । तीन हजार मानिसको मृत्यु भएको तथ्यांक छ । पछिल्लो समय वुआनमा कोरोना संक्रमण निकै घटेको छ । शनिबार ५४ नयाँ संक्रमित भेटिएकामा सबै आयातित रहेको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

वुआनमा लकडाउन खुलेपछि प्रवेश गर्न पाइने तर बाहिर निस्कन नपाइने नियम बनाइएको छ । अर्को सूचना नभएसम्मका लागि वुआनबाट कोही पनि बाहिर जान पाउनेछैनन् ।

यसैगरी, चीनले आफ्नो सीमा बन्द गरी ढुवानीबाहेक मानिसको आवतजावत् बन्द गरेको छ । भीसाहरु बन्द गरिएका छन् । कुटनीतिक भीसाबाहेक अनुमति विना कुनै पनि विदेशी चीन प्रवेश गर्न निषेध गरिएको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको वुआन खुल्दा बाँकी आधा विश्व लकडाउन छ । युरोपका अधिकांश देश लकडाउन छन् । भोलिबाट रुस पनि लकडाउन हुँदैन । दक्षिण एशियाका अधिकांश देश लकडाउन छन् । अमेरिकाको कतिपय राज्य लकडाउन छन् । लकडाउन भएका देशहरुको जनसंख्या संसारको कुल जनसंख्याको झण्डै आधा छ ।-Photo Source: Bangkokpost



प्रतिक्रिया दिनुहोस्