Logo

कोरोना भाइरस झन फैलिदै, मृतकको संख्या २८ हजार नाघ्यो, बुहान सामान्य बन्दै



चैत १५, काठमाण्डौ । विश्वभर कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनबाट मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । भाइरसका कारण अहिलेसम्म २८ हजारभन्दा बढिको मृत्यु भइसकेको छ । कूल संक्रमितको संख्या ६ लाख १५ हजार नाघेको छ । तिमध्ये १७ प्रतिशतको मृत्यु भएको हो ।

८४ प्रतिशत अर्थात १ लाख ३७ हजार संक्रमित निको भएका छन् । उपचाररत करिब २४ हजारको अवस्था भने चिन्ताजनक छ । अहिलेसम्म १ सय ९९ राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै इटालीका नागरिकको ज्यान लिएको छ । त्यहाँ अहिलेसम्म ९ हजार १ सयभन्दा बढिको मृत्यु भएको छ ।

तर संक्रमण भने सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा अहिलेसम्म १ लाख ५ हजारमा संक्रमण भएको छ भने १ हजार ७ सयभन्दा बढिको ज्यान गएको छ । कोरोनाको उद्गमस्थल चिनमा भने ८१ हजार संक्रमित भएका छन भने ३ हजार २ सय ९५ जनाले ज्यान गुमाएका छन् । धेरै मृत्यु हुने राष्ट्रको दोस्रो नम्बरमा भने स्पेन रहेको छ । त्यहाँ ५ हजार ६ सयभन्दा बढिले ज्यान गुमाइसकेका छन् । उता इरानमा ३५ हजार संक्रमित हुँदा २ हजार ५ सयभन्दा बढिले ज्यान गुमाएका छन् ।

त्यसपछि फ्रान्सका करिब २ हजार नागरिकले ज्यान गुमाएका छन् । बेलायतमा पनि ७ सय ५९ जनाको ज्यान गइसकेको छ । त्यसैगरी नेदरल्याण्डमा ५ सय ४६, बेल्जियममा ३ सय ५३ र स्विजरल्याण्डमा करिब २ सय ४१ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा १ सय ४४ जनाको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २० पुगिसकेको छ ।

सामान्य बन्दै बुहान


कोरोना भाइरस कोभिड–१९ महामारीको उद्गमस्थल चीनको वुहान सहर दुई महिनाभन्दा लामो समयको ‘लकडाउन’ पछि आंशिक रूपमा खुला गरिएको छ । शुक्रबार अबेरबाट हुबेई प्रान्तको राजधानीसमेत रहेको वुहान भित्रने सडक खुला र रेलसेवा खुला गरिएको हो । खुला भएसँगै शनिबार त्यहाँस्थित रेल स्टेसनमा यात्रुको भीड देखिएको छ ।

सडक र रेलमार्फत वुहान प्रवेश गर्न दिइए पनि तत्काल अन्यत्र भने जान नदिइएको राज्य सञ्चालित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । वुहान प्रवेश गर्ने सबैले मोबाईल एपमा आफू स्वस्थ्य प्रमाणित गर्न ‘हरियो कोड’ देखाउनुपर्नेछ । अधिकारीहरुले वुहान छोड्न नपाइने गरी लगाइएको प्रतिबन्ध भने अप्रिल ८ बाट हट्ने बताएका छन् ।

संक्रमित संख्यामा तीव्र वृद्धि भएसँगै १ करोड १० लाख मानिस बसोबास गर्ने वुहान मध्य जनवरीदेखि पूर्ण रूपमा बन्द गरिएको थियो । सहरभित्र र बाहिर जोड्ने सबै सडक सञ्जाल, रेलसेवा, मानिस भीडभाड हुने क्षेत्रलगायत सबै बन्द गरिएका थिए । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार सडक र रेलसेवा सुचारु गरिए पनि भीडभाड हुने क्षेत्रमा अझै प्रतिबन्ध कायम छ । वुहानमा ५० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् भने हुबेई प्रान्तमा मात्र कम्तीमा ३ हजारको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्