Logo

खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइयो



काठमाडौं, १५ चैत्र । लकडाउनका कारण मुलुक ठप्प भईरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरि उपचारका लागि काठमाडौं ल्याइएको छ । गर्भवती अवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडौं ल्याए लगत्तै ती महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भईरहेको छ । ५ महिनाकी ती गर्भवती महिलालाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो । शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेकी शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडौं रिफर गर्नु परेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिईन् ।

उनकानुसार ती महिलाको पाठेघरमा समस्या देखिएको थियो । शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसक्ने भनेपछि हेलिकप्टरबाट काठमाडौंमा ल्याई उपचार सुरु गरिएको तामाङकी पति गणेशले बताए ।

स्थानीय स्वास्थ्य केन्द्रले उपचार गर्न नसक्ने भएपछि खोटाङका प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा ती महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

उनले कोरोना भाईरसको संक्रमणबाट बच्न ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अपांगता भएका व्यक्तिको विशेष व्यवस्था गर्न पनि सबैलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्