Logo

स्वास्थ्यमन्त्री ढकाल गुमनाम : विवादै विवादले दबाबमा



चैत १५, काठमाण्डौ । यतिबेला स्वास्थ्यसँग सम्बन्धित समस्याबाट विश्व नै गुज्रिरहेको छ । नेपालले पनि समस्याको समाना गरिरहेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म नेपालमा रहेका ५ जना संक्रमित भइरहेका छन् ।

संक्रमणको जोखिम कम गर्न सकारले देश नै लक डाउन गरेको छ । तर लक डाउनको ५ दिन बितिसक्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल भने गुमनाम छन् । कोरोनासँग लड्न सरकारले योजना तयार पारेदेखि नै विवादमा परेका ढकाल पछिल्ला दिनमा कहाँ के गर्दैछन् भन्ने प्रश्न उब्जिएको छ ।

मन्त्री ढकाल फागुन २७ गते मंगलबारदेखि विवादमा परेका थिए । त्यसदिन राष्ट्रिय युवा संघले मन्त्री ढकाललाई कोरोनासम्बन्धी ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय पुगेको थियो । त्यँहा मन्त्री ढकाल, सचिव यादव कोइराला लगायत उच्च अधिकारी उपस्थित थिए ।

ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री ढकालले नेपालमा कोरोना संक्रमण फैलिए सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन भनेका थिए । यही अभिव्यक्ति विवादमा पर्यो । सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ भनेर मन्त्री ढकालले दिएको अभिव्यक्ति गैरजिम्मेवार र संक्रमण रोक्न सरकारी तयारीलाई उदांगो पारेको भन्दै दुई दिनपछि बसेको संसद बैठकमा सांसदहरूले विरोध जनाएका थिए ।

ढकालको विवादित श्रृखला चिकित्सकका लागि आवश्यक सुरक्षा कवच सामग्री (पीपीई) मा पनि देखियो । पीपीई समयमा उपलब्ध गराउन नसकेकोमा आलोचना भइरेहेका बेला मन्त्री ढकालले पिपिइबारे आफूलाई जानकारी नभएको अभिव्यक्ति दिएका थिए ।

त्यति मात्रै होइन उनले चिकित्सकहरुलाई रुष्ट बनाउने गरी भनेका थिए– ’कस्तो मनोविज्ञान स्थापित भयो भने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट ( पीपीई) बिना घरमा भात पकाउन पनि खतरा हुन्छ भन्ने खालको..,’ यो भनाई मन्त्री ढकालले निजी स्वास्थ्य संस्थाहरूसँगको अन्तर्क्िरयामा चिकित्सकलाई लक्षित गरी दिएको अभिव्यक्ति थियो ।

उनको विवादित श्रृखला नेपालमा कोरोना संक्रमित दोसो व्यक्ति भेटिएपछि संचारमाध्यमलाई जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पनि देखियो । चैत १० गते ढकालले मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा निकै भिडभाड थियो । त्यसबेलासम्म सरकारले २५ जनाभन्दा बढि भेला नहुने निर्देशन जारी गरिसकेको थियो । तर मन्त्रीले नै भिडभाड सृजना गरेको भन्दै आलोचना भयो ।

आलोचना भएपछि मन्त्री ढकालले कोरोनाबारे मन्त्रालयका प्रवक्ताले नै प्रेसलाई भिडियो लाइभमार्फत जानकारी गराउने बताए । तर १२ चैतमा फेरि उनी पत्रकार सम्मेलनमा आफै देखा परे । यतिसम्म त ठिकै थियो । दुर्भाग्य के भइदियो भने मन्त्री ढकालले संचारमाध्यममा गतल सुचना दिए । संयुक्त अरब इमिरेट्स (यूएई) बाट ६ चैतमा नेपाल आएका व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएकामा उनले कतारबाट आएका व्यक्तिमा कारोनाको संक्रमण पुष्टि भएको गलत सूचना दिए ।

उक्त सुचनालाई लिएर अर्को विवाद पनि सुरु भयो । मन्त्री ढकालले प्रेस ब्रिफिङ गर्नुअघि नै कारोना संक्रमितबारेको जानकारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट बाहिरिसकेको थियो । उपचारमा संलग्न चिकित्सकलाई नै जानकारी नहुने तर मिडियाबारे खबर थाहा पाउनुपर्ने अवस्था रहेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक र कर्मचारी रुष्ट बने ।

यो घटनाले मन्त्री ढकालले स्वास्थ्यका कर्मचारी र चिकित्सकलाई विश्वासमा लिन नसकेको देखियो ।

यसरी एकपछि अर्को गर्दै विवादमा मुछिएका ढकालप्रति सर्वसाधारण पनि रुष्ट छन् । सामाजिक संजालमा कतिपयले तत्काल मन्त्री परिवर्तन गर्न सुझाबसमेत दिएका छन् । ढकाल आफैँमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्ति होइनन् । उनीमा यस क्षेत्रको ज्ञान खासै छैन । तर एउटा राजनीतिज्ञ भएका नाताले सम्बन्धित मन्त्रालयको ज्ञान नभए पनि सुझबुझ तरिकाले कर्मचारीसँगको समन्वयमा काम गर्ने हो भने यस्ता विवादमा पर्ने थिएनन् ।

विवादै विवादपछि पछिल्ला दिनमा मन्त्री ढकाल गुमनाम जस्तै छन् । कोरोनाविरुद्धको लडाईमा उपप्रधानमन्त्रीसमेत रहेका उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले नेतृत्व लिइरहेका छन् । उक्त बैठकमा भने मन्त्री ढकाल नियमित रुपमा उपस्थित भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्