Logo

पूर्वमन्त्री गोकुल बास्कोटाको एकपछि अर्को स्टाटस, कसलाई गर्दैछन् यस्तो कटाक्ष ?



चैत १६, काठमाण्डौ । पूर्व सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटा यतिबेला घरमै बसिरहेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको डिलमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रसमेत रहेका पूर्वमन्त्री बास्कोटा राजीनामा दिन बाध्य भएका थिए ।

फुर्सदमा रहेका बास्कोटाले एकपछि अर्को गर्दै सहजै नबुझिने तरिकाको स्टाटस राखिरहेका छन् । सामाजिक संजाल फेसबुकमा उनले शनिबार मात्रै तीनवटा स्टाटस राखेका छन् । पछिल्लो पटक राखेको स्टाटस कविता शैलीमा छ । कसलाई के भन्न खोजेका हुन् भन्ने स्पस्ट छैन ।

प्रि-अक्पाई माईन्डसेटवालालाई प्रश्न भन्दै उनले लोकतन्त्रका कुरा गरेका छन् ।आफुले स्वतन्त्र रुपमा बोल्न नपाएको उनको आशय देखिन्छ ।

शनिबार राति सवा १० बजेतिर पोस्ट गरिएको अर्को स्टाटसमा उनले नेपाली कांग्रेसलाई कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्-´आफुलाई वर्गसंघर्ष र श्रमजीवी वर्गकाे पक्षधर हुँ भन्ने साथिहरुले हेक्का राख्नु पर्छ कि काङ्ग्रेसले पाँच (स)भनेकाे थियाे ।
– सडक,सदन,सामाजिक सन्जाल,सभा समाराेह र सार्वजनिक स्थान बाट कम्युनिष्ट सरकारमाथि हमला गरिने छ ।बैष फर्काउने काङ्रेस सिद्दान्त,तिन बर्षपछिकाे तयारि।`

शनिबार विहान पोस्ट गरिएको अर्को स्टाटस यस्तो छ-´तथ्यले पराजित गर्न नसकेपछि केहि मान्छेहरु झुठका पुलिन्दाकाे पहाड खडा गरेर खेति गर्दा रहेछन।प्रदुषणकाे राजनितिक सिद्दान्त हावि रहदासम्म याे गज्जब नै हुन्छ।तर शितकाे आयु घाम नलाग्दासम्म मात्र हाे ।´

दुई दिनअघि भने बास्कोटाले प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् । उनले लेखेका छन्-´पुरै संसार कोरोना भाइरस नाम गरेको हलाहल विष पिउँदैछ। सम्माननीय प्रम केपी ओलीक‍ो दृढ आत्मविश्वाससहितको नेतृत्व र जनताको साथबाट हामी सबैले संकटको यो घडीमा निलकण्ठ बन्न सक्नुपर्छ।´

 

बास्कोटाले सेक्युरिटि प्रेस खरीदका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग ७० करोड कमिसन मागेको अडियो संचारमाध्यमहरुमा सार्वजनिक भएसँगै राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्