Logo

तयार हुँदै सुरक्षा कवच



काठमाडौँ, १६ चैत । बाँकेका अधिकांश उद्योग कलकारखाना बन्द गरिए पनि गार्मेन्ट उद्योगहरूलाई भने अहिले व्यक्तिगत सुरक्षा कवच र मास्क निर्माणको चटारो छ ।

मास्कको माग अत्यधिक बढेपछि अहिले अधिकांश गार्मेन्ट मास्क निर्माणमा व्यस्त छन् । त्यस्तै कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकका लागि अनिवार्य व्यक्तिगत सुरक्षा कवच ९पीपीई०को निकै अभाव हुँदा केही गार्मेन्टले सो पनि निर्माण थालेका छन् ।
बाँकेलगायत पश्चिम नेपालकै विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा सुरक्षा कवचको अभाव देखिएकाले चिकित्सकको सुझाव र अनुमतिमा पहिलोपटक स्थानीय लुम्बिनी इन्डस्ट्रिज प्रालिले त्यसको निर्माण थालेको छ ।

अन्य समयमा वर्षात्का लागि आवश्यक रेनकोट उत्पादन गर्दै आएको सो उद्योगले सरोकारवालाको सुझावका आधारमा पीपीई उत्पादन सुरु गरेको जनाएको छ । भेरी अस्पताल आईसीयू वार्डका प्रमुख डा. पारस पाण्डेले दिनुभएको डिजाइन र अनुमतिबाट आफ्नो गार्मेन्ट उद्योगले पीपीई उत्पादन गरिरहेको लुम्बिनी इन्डस्ट्रिज प्रालि गार्मेन्टका सञ्चालक कश्मिरा खातुनले बताए । सञ्चालक खातुनले नेपालगञ्जका विभिन्न अस्पतालका लागि नेपालगञ्ज उपमहानगरपालिकाले माग गरेको एक हजार सात सय थान पीपीई तयार गरिसकेको र थप तीन सय थान पनि तयार पारिसकेको बताए । उनले जिल्लाबाहिरबाट पनि थुप्रै अर्डर आइरहेकाले दिनरात मानिस लगाएर तयार गर्ने कार्य भइरहेको बताएका छन् ।

पछिल्लो समय बाँकेका अलावा सुर्खेत, बर्दिया, दाङ र चितवनबाट समेत पीपीईको माग बढिरहेको बताउँदै खातुनले पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको मागअनुसार दुई हजार थान उत्पादन गरिसकेको बताए ।
भेरी अस्पताल नेपालगञ्जका आईसीयू वार्ड प्रमुख डा। पारस पाण्डेले कोरोना रोग लागेका बिरामीको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीले पीपीई लगाउनु अनिवार्य भएको र एक सेट पीपीई एकपटक मात्र लगाउन पाइने हुँदा यसको माग अत्यधिक रहेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्