Logo

शङ्खरापुरमा चार एकान्तवास र नौ क्वारेन्टाइन



काठमाडौँ, १६ चैत । शङ्खरापुर नगरपालिकाले कोरोनाको सङ्क्रमणबाट बचाउन चार श्यया एकान्तवास (आइसोलेसन) र नौ श्यया क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

सुष्मा कोइराला मेमोरियल र पिपुल्स लाइफ केयर अस्पतालमा दुई–दुई एकान्तवासको व्यवस्था गरिएको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिएका छन् । नगरपालिकाको वडा नं ९ स्थित इन्द्रायणीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नौ श्ययाको क्वारेन्टाइन व्यवस्था गरिएको उनले बताएका छन् ।

नगरपालिकाले वडावडामा गठन भएका विपद् व्यवस्थापन समितिमार्फत मास्क, स्यानिटाइजर वितरण र साबुनपानीले हात धुने जनचेतना फैलाउन थालेको छ । मुख्यमुख्यचोकमा पानी र साबुनसहित हात धुने व्यवस्था गरिएको छ । मास्क, स्यानिटाइजरजस्ता कोरोनाबाट बच्न आवश्यक सुरक्षा सामग्री नगरभित्रै उत्पादनका लागि पहल गर्ने निर्णयसमेत नगर कार्यपालिकाले गरेको छ ।

बाहिरबाट नगर छिर्ने व्यक्तिका लागि सहयोग कक्षको स्थापना गर्न लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन् । खाद्य सङ्कट हुन नदिने गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । ( रासस )



प्रतिक्रिया दिनुहोस्