Logo

नेपालसँग सीमा जोडिएको भारतका राज्यहरुमा कोरोना संक्रमित बढ्दै



एजेन्सी, १६ चैत्र । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । नेपालसँग सीमा जोडिएका भारतका राज्यहरु पनि कोरोना संक्रमितको संख्या बढिरहेको तथ्यांक छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उत्तर प्रदेशमा ६६ जना संंंक्रमित भइसकेको तथ्यांक छ । त्यहाँ शनिबार ११ जना संक्रमित भेटिएका छन् । उत्तर प्रदेशको बनारस, मेरट र गौतमबुद्धनगरमा संक्रमण भेटिएको हो । उत्तर प्रदेशसँग नेपालको निकै लामो सीमा जोडिएको छ ।
नेपालसँग लामो सीमा जोडिएको अर्को भारतीय राज्य विहारमा ९ जना संक्रमित भइसकेका छन् । त्यहाँ संक्रमणबाट एकजनाको निधन भएको तथ्यांक छ ।

नेपालको पश्चिमी भागसँग सीमा जोडिएको उत्तराखण्डमा चार जना संक्रमित भएका छन् । नेपालको पूर्वी भागसँग सीमा जोडिएको पश्चिम बँगालमा १५ जना संक्रमित भएकोमा एकजनाको निधन भइसकेको छ ।

सिक्किममा अहिलेसम्म कुनै संक्रमित भेटिएका छैनन् । नेपालसँग सीमा जोडिएकोमध्ये सिक्किममात्र संक्रमणमुक्त छ ।

नेपाल र भारतबीच अहिले सीमा बन्द गरिएको छ । सामान ढुवानीबाहेक मानिसको आवतजावत बन्द गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्